सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा डम्पिङ गर्नुपर्ने कुखुरालाई तस्कर सुदूरपश्चिममा भित्र्याउदै

फाइल फोटो
फाइल फोटो
२०८० जेठ २७, ०७:०६ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिममा अखाद्य भारतीय कुखुराको तस्करी मौलाएको छ। प्रदेशको कैलाली र कञ्चनपुरमा हरेक दिन ठुलो परिमाण कुखुरा तस्करी हुने गरेको नेपाली किसानहरूको दाबी छ।

भारतमा खान अयोग्य र डम्पिङ गर्नुपर्ने कुखुराको सुदूरपश्चिममा निर्बाध तस्करी भइरहेको छ। कैलाली र कञ्चनपुरका विभिन्न सिमावर्ती क्षेत्र हुँदै भारतीय  कुखुरा तस्करी गरेर पहाडी जिल्ला पठाउन थालिएको किसानहरूले बताएका छन्।

अशोक सिंह प्रदेश प्रहरी भएर आएको समयमा कुखुरा तस्करी बन्द भएको भए पनि अहिले मौलाएको किसानहरूको दाबी छ। हरेक दिन तस्करीको कुखुरा बरामद भएको घटनाले पनि तस्करी बढेको पुष्टि गरेको छ। सिमा क्षेत्रमा खटिने प्रहरीसँगको सेटिङमा तस्करी हुने गरेको कुखुरा पालक किसानले बताएका छन्। 

कैलालीमा धनगढी उपमहानगरपालिकाको विभिन्न ठाउँ, कञ्चनपुरको दोधारा चाँदनी, बेलौरी र पुनर्वास क्षेत्रबाट दैनिक भारतीय कुखुरा तस्करी हुन थालेको गोदावरीका किसान प्रेमराज भट्टले बताए। उनले भारतमा अण्डा र चल्ला उत्पादनका लागि दुई वर्षसम्म पालिएका बुढा माउ कुखुराको तस्करी व्यापक भइरहेको बताएका छन्। "सुदूरपश्चिमका कुखुरा पालक किसानहरूको सक्रियतामा दैनिक तस्करीको कुखुरा समात्ने काम भइरहेको छ," उनले भने, "तस्करीको कुखुरा सेटिङ मिलाएर पहाडी जिल्लामा लैजाने काम समेत हुने गरेको  छ।"

केही दिन अगाडि मात्रै खानीडाँडाबाट एक गाडी भारतीय माउ कुखुरा बरामद गरिएको थियो। भारतबाट अखाद्य कुखुरा समात्न किसानले मिहेनत गर्नुपरेको तर प्रहरीले चासो नदिँएको कुखुरा पालक किसान संघका कैलाली अध्यक्ष हरि ओलीले बताए। "हामी किसानहरूको सक्रियतामा दैनिक कैलाली र कञ्चनपुरबाट तस्करी गरेर ल्याइएको कुखुरा समात्ने काम भएको छ। तर, प्रहरीको सक्रियता छैन," उनले भने, "भारतबाट जनस्वास्थ्यमा गम्भीर असर हुने अखाद्य कुखुरा ल्याइदा नियन्त्रणको प्रयास नहुनु दु:खद विषय हो।"

भारतबाट तस्करी हुने कुखुरामा अत्यधिक एन्टिबायोटिक प्रयोग भएको हुने कृषि तथा भेटेरिनरी अधिकारीहरूले बताएका छन्। अन्डाका लागि दुई वर्षसम्म पालिएका कुखुरामा चार पाँच सय डोज एन्टिबायोटिक प्रयोग भएको हुन्छ भने दानामा तौल बढाउन युरिया प्रयोग गरिएको हुन्छ। यस्तो कुखुराको मासु खानै नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए। "भारतमा माउ कुखुरा खान नमिल्ने नियम छ। सरकारले डम्पिङ गर्न लगाउँछ। तर, त्यहीँ अखाद्य कुखुरा नेपालमा ल्याइएको पाइन्छ," उनले भने, " सयौं डोज एन्टिबायोटिक खुवाइएको र युरिया खुवाएको कुखुराको मासु खाँदा स्वास्थ्यमा गम्भीर समस्या हुन्छ। यस्तो कुखुराको मासु खाए मृगौला खराब हुने सम्भावना उच्च हुन्छ।"

भारतबाट आउने माउ कुखुरा भारतमा खान प्रतिबन्धित छ। भारत सरकारले यस्तो कुखुरालाई अनिवार्य डम्पिङ गर्नुपर्ने नियम बनाएको छ। तर, भारतीयहरूले नेपाली तस्करहरूसँग मिलेर अखाद्य कुखुरा नेपालमा तस्करी गर्दै आएका छन्। युरिया खुवाइएको र एन्टिबायोटिक अत्यधिक प्रयोग गरिएको कुखुराको मासु खाए मृगौला खराब हुने जस्ता विभिन्न स्वास्थ्य समस्या हुने गर्छन्। तर, सिमा क्षेत्रमा प्रहरीसँग सेटिङ गरेर दैनिक तस्करी हुने गरेको किसानहरूले बताएका छन्। तस्करी हुने ठाउँ, समय र व्यक्तिको पहिचान गरेर कुखुरा आउन नदिने सुदूरपश्चिम प्रदेश  प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए। "हामी सबै खाले तस्करी रोक्न प्रतिबद्ध छौँ। तस्करी हुने समय र स्थान बारे नागरिकले मलाई खबर गर्न सक्नुहुनेछ," उनले भने, " तस्करी हुने स्थान, समय र व्यक्तिको पहिचान गरेर प्रहरीले कारबाही चलाउँछ।"

भारतमा डपिङ्ग गर्नुपर्ने कुखुरा निकै कम मूल्यमा कैलाली र कञ्चनपुरका भित्र्याउने गरिएको छ। भारतीय अखाद्य कुखुरा ल्याउन सिमा क्षेत्रमा खोलिएका कुखुरा फारमलाई सेल्टरको रुपमा प्रयोग गर्ने गरिएको बताइएको छ। केही व्यक्तिले मोटो रकम हात पार्न जनस्वास्थ्यमाथि खेलवाड भइरहेको पाइएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस