सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यस्तो विद्यालय, जहाँ छन् १२ जना विद्यार्थी

२०८० जेठ २६, ०७:१३ नारायण अवस्थी

धनगढी: धनगढीको एक विद्यालयमा १२ जना विद्यार्थी मात्रै भर्ना भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को नुकलीपुरमा रहेको नेपाल भुपूसैनिक आधारभूत विद्यालयमा यो वर्ष १२ जना विद्यार्थी मात्रै भर्ना भएका हुन्।

कक्षा ३ सम्मको विद्यालयमा बालबालिका कक्षामा ५ जना, कक्षा १ मा ५ जना र कक्षा ३ मा २ जना भर्ना भएका छन्।

शैक्षिकसत्र २०८० का लागि कक्षा २ मा भर्ना हुन् कोही पनि नआएको विद्यालयका प्रधानाध्यापक देवकी पन्तले बताए। गत शैक्षिकसत्रसम्म तीन जना शिक्षक र एक जना कार्यालय सहयोगी रहेकोमा यो वर्ष एक जना शिक्षकको अन्तै सरुवा भएको छ।

विद्यालयमा पन्त र जमुना न्यौपाने राहत शिक्षकको रुपमा कार्यरत छन्। बिहीवार १० बजे विद्यालयमा पुग्दा कक्षा तीनका एक जना विद्यार्थी मात्रै स्लुलमा थिए। बालबिकास र कक्षा १ मा पढ्ने १० जना विद्यार्थी खाजा खाएर घर गइसएको थिए। शिक्षक पन्त र न्यौपाने तथा कार्यालय सहयोगी भने विद्यालयमै भेटिएका थिए। प्रधानाध्यापक पन्तले गाउँ पनि सानो भएकाले विद्यार्थी संख्या कम रहेको बताए। उनले केही विद्यार्थी वडाको अन्य विद्यालयमा भर्ना भएकाले विद्यार्थी संख्या नगण्य रहेको बताए। "गाउँ सानो छ। सबै अभिभावकले सानो स्कुल भनेर पठाउँदैनन्," उनले भने, "गाउँका बालबालिका वडाका अन्य विद्यालयमा पढ्न जाने गरेकाले यहाँ विद्यार्थी कम भएका हुन्।"

अर्का शिक्षिका जमुना न्यौपानेले विद्यार्थी नहुँदा अफ्ठ्यारो हुने गरेको बताए। भएका विद्यार्थी पनि रुँदै घर जाने गरेको उनले बताए। विद्यालय अन्यत्र समायोजन भए राम्रो हुने पन्त र न्यौपानेले बताएका छन्।

धनगढीमा विद्यालयको नक्साङ्कन नगरी सामुदायिक विद्यालय खुलेकाले व्यवस्थापनमा समस्या हुन थालेको छ। फूलबारीमा एक गाउँ एक सामुदायिक विद्यालय खुलेका कारण दरबन्दी र विद्यार्थीको अभाव देखिएको स्वयं विद्यालयहरूले बताउने गरेका छन्। समुदायमा विद्यालय खोल्ने होड चलेका कारण हरेक टोलमा विद्यालय खुले पनि अहिले विद्यार्थी नहुँदा बन्द गर्नुपर्ने अवस्था आउन थालेको अभिभावकहरूले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस