एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डःवर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
धनगढीः धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ। सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको वर्ष प्रशिक्षक र वर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ। यसअघि सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो।
चौथो संस्करणको एसपिए सुदुरपश्चिम स्पोर्टस अवार्डको सारथी अस्पताल बर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारात्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन्। चन्दको प्रशिक्षणमा सुदुरपश्चिमले ९ औं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण पदक जितेको थियो। सुदुरपश्चिमले जितेको १० स्वर्ण मध्ये ५ स्वर्ण जिताउने प्रशिक्षक चन्द हुन्। उनकै प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा संगीता धामीले ३६ बर्षपछि नेपाललाई कुस्तीमा स्वर्ण पदक जिताएकी थिईन्।
९ औं राष्ट्रिय खेलकुदमा कुस्तीपछि सबैभन्दा बढी स्वर्ण पदक जिताउने प्रशिक्षक हुन जीवन गौतम। भारात्तोलनमा उनको प्रशिक्षणमा सुदुरपश्चिमले तीन स्वर्ण पदक जितेको थियो। क्रिकेट प्रशिक्षक टमटाको नेतृत्वमा नेपाल यु १९ विश्वकपको लागि छनोट भएको छ। उनले ८ बर्षपछि नेपाललाई यु १९ विश्वकपमा पुराएका हुन्। निसर्ग हस्पिटल बर्ष युवा खेलाडीको मनोनयनमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन्। पालले ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका छन्। उनले पहिलो सहभागीताको राष्ट्रिय खेलकुदमा १७ बर्षको उमेरमा स्वर्ण पदक जितेका हुन्।
अनुले उमेर समुहबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागीता जनाएकी छिन्। उनले यु १९ विश्वकप महिला एसिया छनोटमा सहभागीता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिईन्। क्रिकेटका धामीले नेपाललाई यु १९ विश्वकपमा नेपाललाई छनोट गराउन उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले बलिंग र ब्याटिङमा सानदार प्रदर्शन गरेका छन्। यसअघि नै सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिसकिएको छ।
सुदुरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन्। सुदुरपश्चिम आईकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकीछिन्। ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ। चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।