गेटामा विश्वविद्यालय स्थापनार्थ जारी आन्दोलनमा यसरी जुट्दैछ समर्थन
धनगढीः गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न भइरहेको आन्दोलनमा जनसमर्थनसँगै राजनीतिक समर्थन पनि बढ्न थालेको छ। गेटामा विश्वविद्यालय स्थापनाका लागि सरकारलाई खबरदारी र दबाब दिन कैलालीमा क्रियाशील राजनीतिक दल सहमत भएका छन्।
निर्माणाधीन भौतिक संरचनामा मेडिकल कलेज र प्रतिष्ठानभन्दा विश्वविद्यालय नै उपयुक्त हुने भन्दै सबै दल एक मत भएका हुन्। तर, सरकारले आफैले गरेको निर्णय र वार्षिक नीति तथा कार्यक्रम विपरीत बजेट ल्याएकाले खबरदारी गर्नुपर्ने नेताहरूले बताएका छन्। बजेटमा गेटामा प्रतिष्ठान चलाउने कुरा आएकाले सम्पूर्ण सुदूरपश्चिमवासीले विश्वविद्यालय स्थापना नहुँदासम्म खबरदारी गर्नुपर्ने सोमवार धनगढीमा भएको सडक बहसमा सहभागी नेताहरूले बताएका हुन्।
गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना हुनुपर्ने भन्दै केही दिनदेखि आन्दोलन भइरहेको छ। गेटामा विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति गठन गरेर आन्दोलन भइरहेको हो। संघर्ष समितिले प्रधानमन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् भने सरकारलाई खबरदारी गर्न शान्तिपूर्ण प्रदर्शन र सडक बहस गर्दै आएका छन्।
मङ्गलवार बिहान धनगढीमा विभिन्न कलेजमा पढ्ने विद्यार्थीहरूले जुलुस निकालेका छन् भने सोमवार साँझ धनगढी पार्कमोडमा सबै राजनीतिक दलका जिल्लास्तरीय नेताहरू राखेर सडक बहस चलाइएको छ। सडक बहसमा सबै राजनीतिक दलका नेताहरूले विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनमा एक्यवद्धता जनाएका छन्। आन्दोलनमा सिङ्गो पार्टीको एक्यवद्धता रहेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विमल जोशीले बताए।
‘गेटामा विश्वविद्यालय बन्नुपर्छ भन्ने सिङ्गो सुदूरपश्चिमको माग हो। यो माग पूरा गराउन सडक आन्दोलन र संसद अवरुद्ध किन नगर्ने?,’ उनले भने, ‘विश्वविद्यालय स्थापना गर्न सबै राजनीतिक दल लाग्नुपर्छ।’ यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जसुकुमारी भट्टले सुदूरपश्चिमका जनता विश्वविद्यालय स्थापना गर्न एकजुट भएर लाग्ने बताए। उनले सडकदेखि सदनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले आवाज उठाउने बताए।
सरकारले २०७९ माघ २९ गते गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने नीतिगत निर्णय गरेको हो। प्रतिनिधि सभामा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि गेटामा विश्वविद्यालय स्थापना गरिने उल्लेख थियो। तर, जेठ १५ मा आएको बजेटमा भने एक सय शय्याको अस्पताल र प्रतिष्ठान चलाउने विषय उल्लेख हुँदा सुदूरपश्चिमवासी आन्दोलनमा उत्रिएका हुन्।
संसदले पास गरेको नीति तथा कार्यक्रम विपरीत बजेट आएकाले यो कुराको विरोध हरेक संसदले गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य घनबहादुर शाहले बताए। ‘नीति तथा कार्यक्रम विपरीत सरकारले बजेट ल्याउँछ। यो विडम्बनापूर्ण कुरालाई सांसदहरूले बुझ्दैनन्,’ उनले भने, ‘अहिले सडकमा भइरहेको बहस सदनमा हुनुपर्ने हो। कसरी पारित नीति तथा कार्यक्रम विपरीत बजेट आयो?’
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सहप्राध्यापक हरिकृष्ण कडायतले कुनै पनि हालतमा गेटामा विश्वविद्यालय स्थापनाको माग त्याग्न नहुने बताएका छन्। ‘यो क्षेत्रको समग्र विकासका लागि र हिजोको क्षतिपूर्ति बापत पनि गेटामा विश्वविद्यालय स्थापना हुनुपर्छ,’ उनले भने, ‘कुनै पनि हालतमा गेटामा विश्वविद्यालय स्थापनाको मागबाट पछि हट्नु हुन्न। यस्तो अवसर फेरि कहिल्यै आउने छैन।’
नेपाली काँग्रेसका उपसभापति भीम बडुवालले विश्वविद्यालय स्थापना हुनुपर्छ भन्ने मागमा नेपाली काँग्रेस कैलालीको समर्थन रहेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, जनमोर्चा नेपालले पनि विश्वविद्यालय स्थापना गर्न भइरहेको आन्दोलनमा समर्थन रहेको बताएका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले दबाब दिने र दायाँबायाँ गर्न दिइने छैन, उनले भने, ‘विश्वविद्यालय स्थापनाका लागि हुने आन्दोलनमा हाम्रो पार्टी जनताको साथमा रहने छ।’
यस्तै, नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विश्वविद्यालय स्थापना गर्न सरकारलाई गरिने खबरदारीमा पार्टीको पूर्ण समर्थन हिजो आज र भोलि पनि रहने बताएका छन्। ‘गेटमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर नेकपा एमाले प्रष्ट थियो, छ र रहनेछ,’ उनले भने, विश्वविद्यालय स्थापनाका लागि हुने आन्दोलनमा नैतिक समर्थन मात्रै नभएर पार्टी आन्दोलनमा सहभागी थियो, छ र रहनेछ।’
गेटामा विश्वविद्यालय स्थापना गर्न भौतिक पूर्वाधार, क्षेत्रीय सन्तुलन र राज्यस्रोतको समानुपातिक वितरणका हिसाबले पनि उपयुक्त हुने जिकिर गरिएको छ। गेटामा विश्वविद्यालय स्थापनाको सरकारले गरेको निर्णय कार्यान्वयन नहुँदासम्म निरन्तर खबरदारी गरिने संघर्ष समितिले बताएको छ। विश्वविद्यालय स्थापनाको आन्दोलनमा सबैले साथ दिन संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले आग्रह गरेका छन्।