सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पोर्टस अवार्डः वर्ष युवा खेलाडीलाई निसर्ग हस्पिटलको साथ

२०८० जेठ २३, ११:२९ खबर संवाददाता

धनगढीः ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो।

स्पोर्टस अवार्डमा दिईने ८ वटा विधा मध्येको ‘वर्ष युवा खेलाडी’ अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन गरेको हो। अब यो विधाको नाम निसर्ग हस्पिटल वर्ष युवा खेलाडी अवार्ड रहने छ। यो विधाका विजेतालाई नगद २५ हजार सहित मेडल प्रदान गरिनेछ।

विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष तिर्थराज पन्त र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीले हस्ताक्षर गरका छन्। स्वास्थ्यका लागि खेलकुद मात्रै नभई ‘‘राष्ट्रका लागि खेलकुद र खेलकुदका लागि स्वास्थ्य’’ भन्ने अभियानका साथ विभिन्न खेलकुद गतिविधीहरु तथा सामाजिक कार्यहरुमा निसर्ग हस्पिटल सक्रिय रहँदै आएकोले सुरुवातदेखि नै अवार्डलाई सहयोग गर्दै आएको कार्यकारी अध्यक्ष तिर्थराज पन्तले बताए।

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ असार ८ गतेबाट हुनेछ।

कमेन्ट लोड गर्नुस