कञ्चनपुरमा दादुरा–रुबेला न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम
कञ्चनपुरः कञ्चनपुरमा दादुरु–रुबेला रोगको न्यूनीकरण गर्नका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ।
जिल्लाको कृष्णपुर नगरपालिकामा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम नेपाल रेडक्रस सोसाईटीसँगको साझेदारीमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको हो। दक्षिणपुर्वि एसियामा सन् २०२६ सम्म दादुरा न्यूनीकरण गर्ने लक्ष्य रहेकाले सो का लागि अभियान नै सञ्चालन गरेर कार्यक्रमहरु सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख द्रोपति रानाले दादुरा महामारी रोग भएकाले यसको निराकरणका लागि सबैले सचेत बन्न आवश्यक रहेको बताईन। उनले एउटै नगरपालिकाले मात्रै रोग न्यूनीकरण गर्न नसक्ने भएकाले दादुराको अन्त्यका लागि सबै तह र तप्काबाट लाग्न जरुरी रहेको बताइन्।
नियमित खोप अभियान सञ्चालन हुँदा पनि सन् २०२३ सम्म न्यूनीकरण गरिसक्ने लक्ष्य राखिएको दादुरा रोग अझै देखा परिरहेको छ। रोग अझै पनि देखा परिरहेकाले सन २०२६ सम्ममा न्यूनीकरण गरिसक्ने गरी अभियान सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनसिंह बिष्टले बताए। उनले दादुराले बालबालिकाको ज्यानै जान सक्ने भएकाले यसको रोकथामका लागि सतर्कता अपनाउन जरुरी रहेको बताए।
कार्यक्रमका सहभागीहरुलाई स्वास्थ्य शाखा प्रमुख विष्टले दादुराको परिचय, दादुरा न्यूनीकरणको लक्ष्य, चुनौती, दादुरा–रुबेलाले हुने समस्या र अभियान सञ्चालनको उद्देश्यका बारेमा प्रशिक्षण दिएका थिए। अभियान ३ दिन सम्म सञ्चालन हुने बताइएको छ।
नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाको कार्यपालिकाका खोप समन्वय समितिका पदाधिकारी, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।