सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल एकेडेमी सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक

२०८० जेठ १६, ०३:२३ खबर संवाददाता

धनगढीः ‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ। ‘चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को मुख्य प्रायोजन गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र सुदुरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाहीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

प्रायोजनपछि बोल्दै एसपिएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी बर्षमा पनि अवार्डसँग जोडिदै अघि बढ्ने बताए। देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुँदै आएको छ। बर्षेनी एसपिए महिला मेयर कप पनि आयोजना हुँदै आएको छ।

सुदुरपश्चिमाञ्चल एकेडेमीले अवार्डको तेस्रो संस्करणलाई पनि मुख्य प्रायोजन गरेको थियो। हाल फाप्लामा अन्तर्राष्ट्रिय मैदान निर्माणको प्रक्रिया अघि बढेको छ। त्यसको नेतृत्व एसपीएकै प्रबन्ध निर्देशक शाहीले गरेका छन्। त्यसबाहेक नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगमा धनगढी एफसी पहिलो संस्करणको उपविजेता बनेको थियो।

एसपीएले हरेक वर्ष सुदूरपश्चिमस्तरीय महिला मेयर कप भलिबलको पनि आयोजना गर्दै आएको छ। त्यसबाहेक एसपीएमा खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत छन्। ८ जना क्रिकेटको अन्तर्राष्ट्रिय खेलाडी मात्रै छन्। त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु एसपीएमा अध्ययनरत छन्।

बर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। आगामी असार ८ गते धनगढीमा चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको आयोजना हुँदैछ।

कमेन्ट लोड गर्नुस