कञ्चनपुरका आरक्ष पीडितहरु आज परराष्ट्रमन्त्री साउँद र रवि लामिछानेलाई भेट्ने
धनगढीः कञ्चनपुरका आरक्ष पीडितहरु आज परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ का सांसद एनपी साउँद र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेट्ने कार्यक्रम रहेको छ। राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधवार काठमाडौं गएको थियो।
बिहीवार संसद् भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरू भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएका थिए। शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन। राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन्।
अध्यक्ष चन्दले पीडितले जग्गा नै चाहेको र प्रतिपरिवार १० कट्टा जग्गा दिनुपर्ने अघिल्लो आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरे। जग्गा दिन नसके प्रतिपरिवार ६० लाख दिने सिफारिस गरिएको र त्यसलाई कार्यान्वयनमा लग्नुपर्ने उनीहरुले माग राखेका थिए। पीडितहरुले शुक्रवार एमाले सचेतक महेश बर्तौला, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग पनि भेट्ने कार्यक्रम रहेको छ।