सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा हाडजोर्नीको उपचार सस्तो,उपकरणसँगै जनशक्ति र शय्याको अभाव 

२०८० जेठ ४, ०७:३५ नारायण अवस्थी

धनगढीः  सेती प्रादेशिक अस्पतालमा हाडजोर्नी विभागमा चिकित्सक, नर्सिङ जनशक्ति र उपकरण अभाव छ। हाडजोर्नीको ओपिडिमा दैनिक करिब एक सय बिरामी  आउँछन्।

अस्पतालको  आकस्मिक कक्षमा आउने  बिरामीको तुरुन्त  शल्यक्रिया गरिन्छ। सेतीमा सस्तोमा हाडजोर्नी को उपचार र शल्यक्रिया हुने भए पनि चिकित्सक र नर्सिङ जनशक्ति, उपकरण तथा शय्या अभावले बिरामीले सेतीमा उपचार गराउन पालो पाउदैनन्। जसको कारण महङ्गोमा अन्यत्र उपचार र शल्यक्रिया गर्नुपर्ने बाध्यता छ।

हाडजोर्नी रोग विशेषज्ञ चार जना मात्रै
सेती प्रादेशिक अस्पताल प्रदेशकै हाडजोर्नीको सबै खाले शल्यक्रिया हुने अस्पताल हो। सेतीको हाडजोर्नीको ओपिडीमा दैनिक एक सय हाराहारीमा बिरामी आउने गरेका छन्। अस्पतालमा सातामा चार दिन हाडजोर्नीको शल्यक्रिया हुने गरेको छ। हाडजोर्नी विभाग अन्तर्गत भने स्थायी दरबन्दीमा एकजना मात्रै चिकित्सक छन्। एकजना संघबाट काजमा कार्यरत छन् भने तीन जना चिकित्सक अस्पतालले व्यवस्थापन गरेको छ। सातामा आइतवार, मङ्गलवार बिहीवार र शुक्रवार हाडजोर्नीको शल्यक्रिया हुने गरेको अस्पतालका हाडजोर्नी विभाग प्रमुख डाक्टर मोहन नाथले बताए।

'सेतीमा सातामा चार दिन हाडजोर्नीको शल्यक्रिया हुन्छ। आकस्मिक आउने बिरामीको उतिखेरै शल्यक्रिया गर्नुपर्ने हुन्छ,' उनले भने, 'अस्पतालमा भने चिकित्सक, नर्सिङ जनशक्ति र उपकरण नहुँदा समस्या छ।' सेतीमा हाडजोर्नीको दैनिक पाँचदेखि सात जनाको मात्रै शल्यक्रिया गर्न सम्भव हुने गरेको छ। हाडजोर्नी विभागका लागि छुट्टै अप्रेसन थिएटर नहुँदा सातामा चार दिन मात्रै शल्यक्रिया हुन्छ।

यस्तै, चिकित्सक र नर्सिङ स्टाफको अभावले पनि हाडजोर्नी सेवा प्रभावित छ। अप्रेसन थिएटरमा सिएम मसिन दुई भए पनि एउटा बिग्रेको छ। यस्तै एक्सरे मसिन पनि दुईमध्ये एउटा बिग्रेको छ। उपकरण र हाडजोर्नी विभाग छुट्टै व्यवस्थित नहुँदा हाडजोर्नीको शल्यक्रिया सेवा प्रभावित हुने गरेको अस्पताल प्रशासनले जनाएको छ।

'सेतीमा विभिन्न विभागहरूको व्यवस्थापन गर्न सकिएको छैन। आउने बिरामीको रेकर्डिङ र रिपोर्टिङमा पनि समस्या छ। अस्पतालको तथ्याङ्क एकीकृत गर्ने सफ्टवेयर नहुँदा तथ्याङ्क राख्न पनि समस्या छ,' अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले भने।
 

अर्थोका बिरामी राख्न शय्या अभाव 
सेती अस्पतालमा हाडजोर्नीको पोष्ट अपरेटिभ वार्डमा जम्मा १८ शय्या मात्रै छन्। एक जना शल्यक्रिया गरेको बिरामीले सातदेखि  चौध दिनसम्म अस्पताल बस्नुपर्ने हुन्छ। शल्यक्रिया गर्न भ्याए पनि बिरामीलाई वार्डमा राख्न समस्या छ। हाडजोर्नीको वार्डमा शय्या र नर्सिङ जनशक्ति अभावले पनि शल्यक्रिया सेवा प्रभावित हुने गरेको छ  सेतीमा बिरामीले पालो नपाएर अन्यत्र जानुपर्ने अवस्था छ।

सेतीमा शल्यक्रिया शुल्क बढीमा १५ हजार मात्रै
सेतीमा हाडजोर्नीको शल्यक्रिया शुल्क ३५० देखि सुरू हुन्छ। जटिल शल्यक्रियाको ६/७ हजारमै शल्यक्रिया हुन्छ। मेरुदण्ड शल्यक्रिया केबल  १५ हजारमा हुन्छ। सेतीको शल्यक्रिया शुल्क निजीको तुलनामा नगण्य हो। हाडजोर्नी विभागको अलग्गै व्यवस्थापन गर्न सकिए प्रदेशका बिरामी अन्यत्र जानु नपर्ने हाडजोर्नी रोग विषेशज्ञ डाक्टर नाथले बताए।


सेतीमा उपचार सस्तो, पालो पाउन सास्ती 
सेती अस्पतालमा शल्यक्रिया गर्दा औषधि र हाडजोर्नीका लागि चाहिने रड सुपथ मूल्यमा फार्मेसीबाट खरिद गर्न सकिन्छ। शल्यक्रिया शुल्क न्यून र सुपथ मूल्यमा औषधी र रडहरू पाइने भए पनि हाडजोर्नीका बिरामीले सेतीमा पालो नपाउने समस्या छ। हाडजोर्नीका बिरामी सेतीमा पालो नपाउने भन्दै बाटोबाटै अन्य अस्पताल जान बाध्य छन्। सेतीमा पालो कुर्नुपर्ने भन्दै अस्पतालको आकस्मिक कक्षबाटै स्वेच्छाले अन्यत्र जाने गरेका छन्। 

सेतीमा हाडजोर्नीका लागि छुट्टै अप्रेसन थिएटर, पर्याप्त चिकित्सक तथा नर्सिङ जनशक्ति व्यवस्थापन भए आउने बिरामीलाई सहज सेवा दिन सकिने चिकित्सकले बताएका छन्।अस्पतालको पोष्ट अपरेटिभ वार्डमा शय्या अभावको कारण  पहाडी जिल्लाका अस्पतालबाट रेफर भएर आउने बिरामी सेतीमा निकै कम र नीजिमा धेरै जाने गरेका छन्। जसको कारण सुदूरपश्चिमका नागरिक सस्तोमा उपचार पाउनबाट बन्चित छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस