कञ्चनपुरको वेदकोटमा जग्गाको वर्गीकरण सुरु
कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकाले जग्गाको वर्गीकरण सुरु गरेको छ। भू–उपयोग नियमावलीअनुसार वेदकोटले जग्गाको वर्गीकरण गरेको हो। सोमवार नगरपालिकाले एक कार्यक्रम गरी भूउपयोग निमावलीअनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको छ।
नगरप्रमुख भोजराज बोहराले जग्गाको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरे थिए। जग्गालाई आवासीय, व्यवसायीक र कृषि क्षेत्रलगायत १० वटा क्षेत्रमा वर्गीकरण गरिएको नगर प्रमुख बोहराले बताए।