कञ्चनपुरको सिँचाई सपनाः ५० हजार बिघामा कहिले पुग्छ सिँचाई कुलो?
धनगढीः २०६३ सालमा महाकाली नदीको पानी सिँचाइका लागि खेत–खेतसम्म पुर्याउने सरकारले घोषणा गर्दा कञ्चनपुरवासी उत्साहित मात्र भएनन्, जीवनमा नयाँ अध्यायको सुरुवातका रुपमा लिएका थिए। सिंचाइ सुविधा नहुँदा बाँझै रहने खेतबारीमा महाकाली सिँचाइ आयोजनाको पानीले लहलह झुलेका बालीको कल्पना गर्न थालेका कञ्चनपुरवासीको सपना अझै पूरा भएको छैन।
राष्ट्रिय गौरवमा समावेश सो आयोजना सुरु भएको डेढ दशकमा निकै न्युन छ। आयोजना कहिले सकिन्छ यकिन छैन। कञ्चनपुरको ५० हजार २ सय २० बिघामा सिँचाइ पुर्याउने गरि महाकाली सिँचाई आयोजना निर्माण सुरु भएको १६ वर्ष भयो। ३५ अर्ब लगानीको आयोजना २०६३ सालदेखि निर्माण सुरु गरिएको थियो।
सो आयोजना २०७४/७५ सम्म सकिने भनिए पनि अझै सुस्त गतिमा छ। एक सय ५१ किलोमिटर मुल नहर निर्माण गर्नुपर्नेमा यो १६ वर्षमा प्रगति ११ प्रतिशत पनि पुग्न सकेको छैन्। २२ वटा शाखा नहर निर्माणको काम पनि देखिने गरी हुन सकेको छैन्। वर्षौंदेखिको जग्गा मुआब्जा विवाद समाधान भएको छैन। १८ हजार विगाहा जमिन अधिग्रहण गर्नुपर्नेमा १ सय ५० विगाहा मात्रै अधिग्रहण भएको छ।
आयोजना कार्यालयले भने बजेट अभावको बहाना देखाउँदै आएको छ। आयोजना सम्पन्न भए कञ्चनपुरका ५० प्रतिशत नागरिकमा सिँचाइ सुविधा पुग्ने छ। तर पानी आउला र खेतीपाती उब्जाउँला भनेर बसेका किसान प्रगती देखेर निराश बनेका छन्। टनकपुर बाँधको जलाशयको कति गहिराइबाट नेपालले पानी पाउने भन्ने विषयमै लामो समय विवाद चलेको थियो।
नेपालले १४२ मिटर गहिराइबाट पानी दिनुपर्ने माग गरिरहेको थियो भने भारतीय पक्षले १४५ मिटर गहिराइबाट दिनुपर्ने अडान लिएको थियो। लामो समयको छलफलपछि भारतीय पक्ष १४४.२५ मिटर गहिराइको सतहबाट पानी दिन तयार भएको थियो। उक्त विवाद समाधान भएपछि भारतीय पक्षले नहर निर्माणको काम अघि बढाएको हो।
ब्रह्मदेवदेखि गोदावरीसम्म मूल नहर ४७ किमि र शाखा नहरसमेत गरेर १ सय ५१ किमि लम्बाइको उक्त नहरबाट झन्डै ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। तर केही वर्षयता स्थानीय तहका केन्द्र तथा वडाको केन्द्रमा व्यापक मात्रामा भौतिक पूर्वाधारसँगै घडेरीका रूपमा जमिन बिक्री बढेकाले आयोजनाको क्षेत्र पनि घट्दै जाने अनुमान महाकाली सिँचाई आयोजनाको छ।