घरधनीबाट धनगढीका व्यवसायी हैरान, ३५ वस्तुगत संघको विज्ञप्ति
धनगढीः घरधनीबाट धनगढीका व्यावसायी हैरान भएका छन्। बैंक तथा वित्तिय संस्थाहरुको व्याजदरका कारण समस्यामा परेका व्यावसायी घरधनीलेसमेत हैरान बनाउने गरेको गुनासो गरेका छन्। कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यावसायीहरुले यस्तो गुनासो पोखेका हुन्। घरधनीहरुले बढाउने मनोमानी घरभाडाका कारण थप संकटको सामना गर्नु परेको उनीहरुको गुनासो छ।
घरभाडा बृद्धिकै कारण व्यापार गर्न सकिने अवस्था नभएको तर्क व्यावसायीको छ। धनगढीमा व्यापार घटेका बेला बैंक तथा वित्तीय संस्था र घरधनीले हैरान गरेको जिकिर समेत उनीहरुको छ। घरधनीले वार्षिक लाखौं रकम घरभाडा बापत उठाउने तर उपमहानगरपालिकालाई निकै न्यून रकम कर तिर्ने गरेको पाइएको छ। धनगढीका एक व्यावसायीले भने, मैले मासिक ३५ हजार घरभाडा तिर्दै आएको छु।
एक वर्षमा चार लाख २० हजार हुन्छ। तर नगरपालिकालाई ५ हजार मात्र घरबहाल कर तिर्ने गरेका छन्। कैलाली उद्योग वार्णिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बैंक तथा वित्तीय संस्थाहरुको व्याजदरका कारण व्यावसायीहरु लिलामीको अवस्थामा पुगेको बताए। उनले भने, बैंकबाट ऋण लिएका कुनै पनि व्यवसायी नाफामा छैनन्। यो तितो सत्य हो। आफूसँग भएको पुँजीमा सानो व्यापार गरेका हुन सक्छन्। तर, बैंकको व्याजमा व्यापार गरेकाहरु नाफामा छैनन्।'
ओझाले अगाडि भने, 'बैंकहरुको नाफा बढेको छ।बैंकहरुले कालोबजारी गरिरहेका छन्। बैंकहरु मिटर व्याजको तरिकाले गएका छन्। धनगढीमा सडक चौडा गर्न सटरहरु टुटेका र घरभाडा दोब्बर भएको छ।' धनगढी उपमहानगरपालिकाले घरभाडाको दर तोक्नुपर्ने ओझाको माग छ। उनले धनगढीमा घरभाडा दोब्बर भएको र बहाल कर भने धर धनीहरूले नतिर्ने गरेको बताए।
अहिले धनगढीका सटरहरु खाली छन्। घरधनीहरुले तिर्नै नसक्ने गरेर भाडा बढाएपछि सटरहरु खाली रहेको दाबी गरिएको छ। धनगढीका ८० प्रतिशत व्यापार घटेको व्यावसायीहरुको गुनासो छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवरले बैंकको व्याजदर र घरभाडाका विषयमा विभिन्न पक्षसँंग छलफल गर्ने बताए।
उनले घरभाडा मनोमानी बढाउने घरधनीहरुलाई उपमहानगरपालिका र स्थानीय प्रशासनले नियमन गर्नुपर्ने बताए। क्षेत्र अनुसार घरभाडा तोकिनु पर्ने उनको माग छ। उनले पूर्व बजेट अघि नै आफूले नेपाल उद्योग वाणिज्य महासंघ, अर्थमन्त्री र प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताए।
विभिन्न उद्योगी व्यावसायीहरूको उपस्थितिमा ३५ वटा वस्तुगत संघ, नाटा सुदूरपश्चिम, नेपाल घरेलु तथा साना उद्योग, सेती महाकाली ट्रक यातायात व्यवसायी संघ, होटल व्यवसायी संघ, हार्डवेयर व्यवसायी संघ, सुदूरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन, बजार बिक्री प्रतिनिधि संघ, इलेक्ट्रिक डिलर्स एसोसिएसन अफ नेपाल, कैलाली वितरक संघ, मदिरा व्यवसायी संघ, किराना व्यवसायी संघ, सुदूरपश्चिम यातायात प्रालि, सेती महाकाली इँटा व्यवसायी संघ, धनगढी होलसेल व्यवसायी, रेडिमेड व्यवसायी संघले ऐक्यबद्धता जनाउँदै विज्ञप्ती जारी गरिएको छ।
यसैगरी, कैलाली तरकारी तथा फलफूल होलसेल व्याज संघ, नेपाल औषधी व्यावसायी संघ, नेपाल बिक्री प्रतिनिधि संघ, सुदूरपश्चिम मोबाइल व्यावसायी संघ, ट्याक्टर व्यावसायी संघ, कुखुरा व्यवसायी संघ, ग्रील सटर व्यावसायी संघ, पेट्रोलियम डिलर्स अफ नेपाल, एग्रोभेट संघ, कर्णाली रिभर यातायात, सुनचाँदी व्यावसायी संघ, कम्प्युटर एसोसिएसन अफ नेपाल, पाठ्यपुस्तक तथा स्टेसनरी महासंघ, छाला जुत्ता व्यवसायी संघ, कैलाली जिल्ला आभूषण व्यवसायी संघ, खप्तड यातायात प्रालि, ग्यास डिलर्स एसोसिएसन, नेपाल बिउ व्यवसायी संघ र नेपाल फोटोग्राफर्स एसोसिएसनको ऐक्यबद्धता र तीन बुँदे मागसहितको विज्ञप्ति जारी गरिएको छ।

