सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप एसिया छनोट नेपालमा हुने

२०८० वैशाख ३०, १०:१० खबर संवाददाता

काठमाडौंः नेपालले टी–ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको हो। नेपाललाई एसिया क्षेत्रको टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आइसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। 

एसियाको छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । बाँकी दुई राष्ट्र छनोट चरण पार गरेर आउनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएनेछ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् । उनका अनुसार प्रतियोगिताका खेलहरू टियु क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा हुनेछ । 

हालै सम्पन्न एसीसी प्रिमियर कप मुलपानी क्रिकेट मैदानमा पहिलो एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल भएको थियो । ’आईसीसीले नेपाललाई आयोजना गर्न दिन लागेको निश्चित गरेको छ,’ क्यानका कार्यवाहक सचिवले खेलपाटीसँग भने, ’कीर्तिपुर र मुलपानीमा प्रतियोगिताका खेल हुने भनेको छ, मुलपानीमा अझ सुविधा थप्नुपर्ने जोड उनीहरूले गरेका छन् । हामीसँग त्यसका लागि समय छ, हामी त्यो सुविधा थप्नेछौं ।’

कमेन्ट लोड गर्नुस