प्रशासनको निर्णय नमान्ने कैलालीका अटेरी व्यवसायी, रोकिएन मदिराको प्रचारप्रसार
धनगढीः कैलालीमा सुर्तीजन्य र मदिराजन्य पदार्थको कानून विपरीत प्रचारप्रसार भइरहेको छ। कैलालीका मुख्य बजार क्षेत्र, ग्रामीण इलाका र रागमार्गका होटेल तथा रेष्टुरेन्टबाट मदिराजन्य पदार्थको प्रचार सामग्री हटाइएको छैन। गत बैशाख १४ मा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसार सामग्री सात दिनभित्र हटाउने निर्णय गरेको थियो। तर, यो निर्णयको कार्यान्वयन भने हुन सकेको छैन।
प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र महेन्द्रनगरको आयोजनामा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको अध्यक्षतामा बैशाख १४ मा जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको बैठले सात दिनभित्र सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसार सामग्री सार्वजनिक ठाउँबाट सरोकारवालाले आफैं हटाउनु पर्ने निर्णय गरेको थियो। यो निर्णयअनुसार सरोकारवालका पक्षलाई पत्र मार्फत जानकारी प्रदान गर्ने तय भएको थियो।
निर्णय कार्यान्वयन भए गएको बुधवारसम्म सार्वजनिक रुपमा राखिएका मदिराजन्य पदार्थका प्रचार सामग्री हटाइसक्नुपर्ने हो। तर, कैलालीमा होटेल तथा रेष्टुरेन्टमा राखिएका मदिराजन्य पदार्थका होर्डिङ बोर्ड हटेका छैनन्। सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचार सामग्री नहटाइए कारबाही हुने प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र महेन्द्रनगरका प्रमुख हेमराज खड्काले बताए।
‘प्रचलित कानूनमा सुर्तीजन्य र मदिराजन्य पदार्थको विज्ञापन गर्न रोक लगाइएको छ। सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसार नगर्न सूचना दिइएको छ,’ उनले भने, ‘विज्ञापन सामग्री आफैं हटाइएको या नहटाएको हामी अनुगम गर्छौं र कानून विपरीत राखिएको छ भने कारबाही गर्छौं।’
सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रसारप्रसार तथा विज्ञापन नगर्ने सम्बन्धमा सर्वोच्च अदालतले २०७९ फागुन ११ को अन्तरिम आदेशमा उल्लेख छ। सर्वोच्च अदालतको अन्तरिम आदेश र प्रचलित कानूनले सुर्तीजन्य र मदिराजन्य पदार्थको विक्रीवितरणको सीमा निर्धारण गरेको छ भने विज्ञापन गर्न पूर्ण रोक लगाएको खड्काले बताए।
प्रचलित कानून विपरीत राखिएका प्रचार सामग्री हटाए नहटाएको विषयमा अनुगमन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई अनुगमन गर्न सहजीकरण गर्ने भएको हो। अनुगमनका क्रममा प्रचार सामग्री हटाउन अन्तिम चेतावनी दिने र त्यसपछि प्रशासनले आफैं हटाउने छ।
प्रशासनले आफैं हटाउने अवस्था आए सम्बन्धित व्यक्तिलाई कानूनले तोकिएको जरिवानासमेत लगाइने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए। ‘जिल्लामा सुर्तीजन्य र मदिराजन्य पदार्थको प्रचारप्रसार सामग्री हटाउने निर्णयको कार्यान्वयन गर्ने समय दिइएको थियो। अब बजारमा अनुगम गर्न प्रहरी परिचालन गर्छौ,’ उनले भने, ‘प्रचार सामग्री नहटाएको पाइए कानून बमोजिमको जरिवाना पनि लगाउने र सामग्री पनि हटाउछौँ।’