सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमपहिरोमा परेका तीन जनाको शव खलंगा ल्याइदै

२०८० वैशाख २१, ११:५३ खबर संवाददाता

धनगढीः दार्चुलामा हिमपहिरोमा परेर मृत्यु भएका तीन जनाको शव ल्याउन थालिएको छ। 

जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव भारतीय भूमि हुँदै ल्याउन लागिएको प्रहरीले बताएको छ। दार्चुला प्रहरीका अनुसार भोलुम डाँडाको भिरमा अड्किएको अवस्थामा बुधवार निकालिएका तीनै जनाको सनाखत भएको छ। 

भिरमा अड्किएको अवस्थामा निकालिएको शव दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको हो। उनीहरुको शव बिहिवार भारतीय भूमि हुँदै खलंगा ल्याउन थालिएको हो। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइने भएके छ। 

हिमपहिरोमा हराइरहेका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अज्ञात छ। उनीहरुको खोजी हुँदैछ। प्रहरीका अनुसार आज हिमपात रोकिएको छ। वर्षा पनि छैन। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई खोजि रहेको छ। 

मंगलवार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए।
 

कमेन्ट लोड गर्नुस