सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोमबजारका मुडुला टाउकाहरूभित्र लुकेका अधुरा सपना

२०८३ साउन ३१, ०४:३८

डिल बहादुर बाेहरा, धनगढीः  राजीव गान्धी क्यान्सर अस्पताल, दिल्ली र नजिकैको रोहिणी सेक्टर–५ को सोमबजार, यो बजार एउटा सानो संसारजस्तै लाग्छ।

यहाँ भाषा नेपाली छ, पीडा साझा छ, र अनुहारहरूमा एउटै किसिमको मौन प्रश्न टाँसिएको छ “अब के हुन्छ?” 

साँघुरा गल्लीहरू, पुराना घरहरू, भाडाका साना कोठाहरू र गल्लीभरिका पसलहरू पनि यहाँका पीडाका साक्षी बनेका छन्। यी गल्लीहरूमा एउटा दृश्य सधैँ  देखिन्छ प्रायः कपाल नभएका मुडुला टाउकाहरू। हाम्रो समाजमा टाउको मुडुलो पार्नु संस्कार मानिन्छ, तर यहाँ देखिने यी मुडुला टाउकाहरू कुनै संस्कारका चिन्ह होइनन् यी त संघर्ष, पीडा र बाँच्ने अदम्य इच्छाका चिन्ह हुन्।

किमोथेरापी, रेडियोथेरापी र इम्युनोथेरापीले कपाल झरेका टाउकाभित्र अझै हजारौँ सपना बाँचेका छन्। कोही कसैका छोरा हुन्, कोही छोरी, आमा, बुबा, श्रीमान् वा श्रीमती। अधुरा लक्ष्यहरू छन्, बाँकी जिम्मेवारीहरू छन्, घर फर्केर परिवारसँग बस्ने चाहना छ। उपचारकै लागि देश छोड्नुपरेको पीडा र “बाँचिन्छ कि बाँचिँदैन?” भन्ने डर हरेकका आँखामा स्पष्ट देखिन्छ।

आर्थिक भारको त्राससँगै जीवनका लागि लडिरहेका सयौँ नेपाली यहाँ भेटिन्छन्। कोही दैनिक उपचारका लागि लामो लाइनमा उभिएका हुन्छन्, कोही व्हीलचेयरको सहारामा अस्पताल पुग्छन्। सोमबजारका केही नेपाली व्यवसायीहरू केवल व्यापारी होइनन्; उनीहरू पीडाका साक्षी, सहयात्री र आवश्यक पर्दा सहारा बन्ने हातहरू पनि हुन्।

यहाँका गल्ली, पार्क र पसलहरू दुःख साटासाट गर्ने चौतारी बनेका छन्। बिहान, दिउँसो वा साँझ बिरामीहरू भेला हुन्छन्, आफ्ना तीता–मिठा अनुभव सुनाउँछन्, आँसु बाँड्छन् र कहिलेकाहीँ हाँसो पनि बाँड्छन्। आफूभन्दा दुःखीलाई देखेर आफ्नै दुःख केहीबेर बिर्सने प्रयास गर्छन्। धेरैले मुस्कुराउँदै भन्छन् “जति बाँचिन्छ, हाँसेर बाँचिन्छ।” 

कहिलेकाहीँ कसैले आएर भन्छ “म क्यान्सर फ्री भएँ।” त्यो एउटा मुस्कान यहाँका सयौँ पीडितका लागि औषधि बन्छ, एउटा आशा बन्छ।

यहाँ आउने धेरै बिरामीको एउटै गुनासो सुनिन्छ “नेपालमै उपचार गराएँ, तर सम्भव भएन।” अनि बाध्यताले उनीहरूलाई दिल्ली ल्याएको हुन्छ। दिल्ली विश्वकै प्रदूषित सहरमध्ये एक भए पनि यहाँ रोगभन्दा प्रदूषण कम पीडादायी लाग्छ, किनकि विकल्प छैन। बस्नैपर्छ, उपचार गर्नैपर्छ, बाँच्नैपर्छ र बाँचिन्छ भन्ने आशा गर्नैपर्छ।

यहाँ वर्षौँदेखि उपचारमा अड्किएका जीवनहरू छन्। आफन्त गुमाएका वेदनाले भरिएका कथाहरू छन्। सम्पत्ति सक्किएर पनि आशा नसक्किएका अनुहारहरू छन्। मैले पनि धेरै बिरामीहरुलाई देखेकाे अनुभव महँगा अस्पतालका बिलले थिचिएका टाउकाहरू अझै भविष्यको सपना देखिरहेका छन्। तर कहिलेकाहीँ आर्थिक अभावले उपचार बीचमै रोकिन्छ। मृत्यु भएपछि शव नेपाल लैजानसमेत खर्च नपुगेर यही परदेशी माटोमा अन्तिम संस्कार गर्नुपरेका कथाहरूले मन चिरिन्छ।

पुराना फर्किन्छन्, नयाँ आउँछन्। यो क्रम अविराम चलिरहन्छ। हरेक मनभित्र अनगिन्ती प्रश्नहरू हुन्छन् “म निको हुन्छु त?” “अर्काको देशमै अन्तिम सास फेर्नु त पर्दैन?” “मेरो परिवारको भविष्य के हुन्छ?”

डाक्टरले “अब उपचार सम्भव छैन” भन्ने क्षणमा ती शब्द शरीरको पीडाभन्दा पनि भारी हुन्छन्। भारी मन बोकेर घर फर्किनुपर्ने पीडा शब्दले बयान गर्न सकिँदैन।

तर यही अँध्यारोबीच चमत्कारका कथाहरू पनि छन्। यहाँ आँसु छन्, तर आशा पनि छ। हारका कथाहरू छन्, तर जितका मुस्कानहरू पनि छन्। जीवनसँग गरिएको यो युद्ध मानव जीवनको अदृश्य तर सबैभन्दा कठिन पाटो हो।

भोगाइहरू तीता छन्, तर आशा नै अन्तिम औषधि हो।

यी सबै अनुहारहरूमा आशाको खडेरी कहिल्यै नलागोस्।  हरेक बिरामीले उपचार सफल भएको खबर सुन्न पाओस् र एक दिन यही दिल्लीबाट मुस्कुराउँदै आफ्नै घर, आफ्नै परिवार र आफ्नै माटोतर्फ फर्किन पाओस्।

राजीव गान्धी क्यान्सर अस्पताल, दिल्ली। 

लेखक बाेहरा, कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्। 
 

कमेन्ट लोड गर्नुस