सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमपहिरोमा पुरिएकाको उद्धार गर्न सुरक्षाकर्मी परिचालन

२०८० वैशाख १९, ०६:१५ खबर संवाददाता

धनगढी : बझाङ र दार्चुलामा हिमपहिरोमा पुरिएकाको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल तिर गएको हो। 

मंगलवार दिउँसो दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा परी कम्तीमा आधा दर्जन मानिस पुरिएको आशंका गरिएको छ। यार्सागुम्बा टिप्न गएका ८/९ जना स्थानिय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको बताइएको छ।

हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ। सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको हो।  चौकीबाट असईको कमान्डमा टोली खटिएको छ। दार्चुलाको हिमाली क्षेत्रमा हिमपात जारी छ। प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार उद्धारका लागि घटनास्थलको अवस्थाका बारेमा जानकारी सुरक्षाकर्मी परिचालन गरिएको हो।

यसैगरी बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला पनि हिमपहिरोमा परि बेपत्ता भएकी छन्। हिम पहिरोमा परी सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन्।

उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न गएको बेपत्ता भएको खबर आएको बझाङ प्रहरीले बताएको छ। सोमवार राति हिम पहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ।

घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस