सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको दुहुँले शिक्षक सरुवा गर्ने, एक विद्यालयमा पाँच वर्ष मात्र शिक्षण

२०८० वैशाख १७, ०९:४९

दार्चुलाः दार्चुलाको दुहुँ गाउँपालिकाले शिक्षक सुरुवा गर्ने भएको छ।

एउटै विद्यालयमा पाँच वर्ष शिक्षण गरेका शिक्षकलाई सरुवा गर्ने तयारी गरिएको हो। अन्तरविद्यालय सरुवाका लागि गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन शिक्षकहरूलाई सूचित गरेको छ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको समयानुसार अनिवार्य सरुवा नहुँदा त्यसको असर विद्यार्थीको सिकाइमा परेकाले एउटै विद्यालयमा लामो समयसम्म पठनपाठन गराउँदा शिक्षकमा आलस्यसमेत बढेको पाइएकाले गाउँपालिकाले सो निर्णय गरेको बताएको छ। पाँच वर्ष एउटै विद्यालयमा शिक्षण गराएका शिक्षकको अन्तरपालिका सरुवाको व्यवस्था गरेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लोकेन्द्रबहादुर बमले बताए। 

उनले सेवाको लामो अवधिसम्म एउटै विद्यालयमा रहँदा शिक्षकको नियमितता, शिक्षण कौशल र पेसाप्रतिको उत्साहमा कमी आएकाले गाउँपालिका शिक्षा नियमावली, २०७६ मा भएको व्यवस्थाअनुसार सरुवा गर्न लागिएको बताए।

शिक्षा नियमावली, २०७६ को पहिलो संशोधनको नियम ५७ मा गाउँपालिकाभित्र एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पुगेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने उल्लेख छ। 

सामुदायिक विद्यालयमा कार्यरत स्थायी, करार र राहत पदमा कार्यरत शिक्षकको अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि पनि सो कार्य अघि बढाइएको शिक्षा शाखा प्रमुख बमले बताए। शिक्षकका सरुवाका लागि सम्बन्धित विद्यालयको व्यवस्थापन समितिको निर्णयसहित गाउँपालिका कार्यालयमा निवेदन पेस गर्न भनिएको छ। 
 

कमेन्ट लोड गर्नुस