समाजवादी प्रेस संगठन दार्चुलाका अध्यक्ष खत्री कुटिए
धनगढीः समाजवादी प्रेस संगठन नेपाल दार्चुलाका अध्यक्ष पत्रकार अम्बर खत्रीमाथि कुटपिट भएको छ। खत्रीलाई समाचार लेखेको भन्दै शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीका स्वकिय सचिव इन्द्रसिंह धामी (नविन), नगरपालिकाका इन्जिनियर योगेश धामी, कार्यपालिका सदस्य चक्र लुहार र राजेन्द्रसिंह विष्ट लगायतले नगरपालिकाको कार्यकक्षमा थुनेर कुटपिट गरेको आरोप खत्रीले लगाएका छन्। उनीहरूले खत्रीले खिचेको भिडियोसमेत डिलिट गरेको आरोप लगाइएको छ।
कुटपिटमा परेका पत्रकार खत्रीले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको र कुटपिटमा संलग्नलाई जिल्ला झिकाइएको जिल्ला प्रहरीका कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।
रेडियो चौलानी र राजधानी दैनिक पत्रिकाका दार्चुला संवाददाता खत्रीलाई नगरपालिकाको विषयमा सामाचार लेखेको भन्दै कुटपिट गरिएको घटनामा संलग्नलाई कारबाही हुनुपर्ने सामाजवादी प्रेस संगठन नेपालले माग गरेको छ।
नगरप्रमुख विजयसिंह धामीसँग यो विषयमा बुझ्न खोज्दा उनको फोन उठेन।