सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ‘खोज र खोप’ किन भएन प्रभावकारी?

२०८० वैशाख १५, ०१:५० खबर संवाददाता

धनगढीः राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा पाँच वर्षमुनिका बालबालिकाको संख्या दुई लाख ३९ हजार १३९ छ। जनगणनाको समयमै गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले सुदूरपश्चिमका १ दशमलल ५ प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाउन नपाएको उल्लेख छ।

प्रदेशमा २०१६ को सर्वेक्षणले कुनै पनि खोप नपाउने बालबालिकाको अनुपात शून्य दशमल ७ रहेको जनाएको थियो। प्रदेशका सहरी क्षेत्रमा बस्ने २ दशमलल २ प्रतिशत बालबालिकाले कुनै पनि खोप पाउन सकेका छैनन् भने खोपको कुनै पनि डोज प्राप्त नगर्ने बालबालिकाको प्रतिशत ग्रामीण क्षेत्रमा शून्य रहेको प्रतिवेदनमा उल्लेख छ।

तर, प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले सुदूरपश्चिम प्रदेशमा पूर्णखोप प्राप्त गर्ने बालबालिका ९० प्रतिशत रहेको जनाएको छ। निर्देशनालयले २०७७/७८ मा ७९, २०७८/७९ मा ९० र २०७९/८० को वैशाख ९ गतेसम्म ४८ प्रतिशत बालबालिकाले पूर्णखोप पाएको जनाएको छ। प्रदेशमा सबै प्रकारका खोप लगाउने प्रतिशत वृद्धि भएको सर्वेक्षणले जनाएको छ।

२०१६ मा प्रदेशमा पूर्ण खोप लगाउने ८३ दशमलव ४ प्रतिशत रहेकोमा २०२२ मा यो अनुपात ८८ दशमलव ८ प्रतिशत छ। प्रदेशमा खोप लगाउँदा लगाउँदै पूरा जोड खोप लगाउन नपाउने बालबालिकाको संख्या पनि उल्लेख्य छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बालबालिका के कारणले खोप कार्यक्रममा सहभागी भइरहेका छैनन् भन्ने विषय पत्ता लगाउनै नसकिएको जनाएको छ।

हरेक वर्ष गाउँगाउँमा ‘खोज र खोप’ अभियान चलेको भए पनि ती बालबालिका खोप लगाउनबाट छुटिरहेका हुन्। नेपाल सरकारले स्वास्थ्य संस्थाबाट १३ प्रकारका खोपहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ। यस वर्षको वैशाख ११ देखि १७ गतेसम्म देश व्यापीरूपमा खोप सप्ताह सुरु भएको छ।

‘खोज र खोप’ अभियानअन्तर्गत यही वैशाख १५ र ३१ गते खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइने निर्देशनालयले जनाएको छ। प्रदेशको केही जिल्लामा सन्तोषजनक नरहेको निर्देशनालयले जनाएको छ। बाजुरा र डोटीमा तीन आर्थिक वर्षमा खोप लगाउने बालबालिकाको संख्यामा कमी आइरहेको छ।

कमेन्ट लोड गर्नुस