नेपालको दलीय गठबन्धन र लोकतान्त्रिक व्यवस्था
अहिलेको असीको दशकसम्म आइपुग्दा देशमा राजनैतिक स्थायित्व र राजनेताहरूको व्यक्तिगत स्वार्थ पूर्तिकालागि दशवर्षे जनयुद्ध, पटक पटक जनआन्दोलन तथा देशमा दिगो शान्ति, विकास र अमनचयनकालागि हजारौं नागरिकहरूले ज्यानको आहुति दिएर पनि देशले गति लिन नसक्नु बिडम्बना हो।
युरोप, अमेरिका, जापान, चीन, भारत लगायतका देशहरूले छोटो अवधिमा पनि सामाजिक, आर्थिक, शैशिक, सूचना प्रविधिमा गरेको विकासलाई हेरेर पनि देशका अगौताहरूको घैंटोमा घाम लाग्न नसक्नु पनि दुःखद कुरो हो। नेताहरूको व्यक्तिगत स्वार्थ, सत्तालिप्सा आदिले गर्दा लोकतन्त्रले राम्रो मलजल नपाउँदा ओइलाउँदै गइरहेको छ भन्नमा अतिशयोक्ति नहोला। सर्वप्रथम म ज्यानको आहुतिदिने हजारौं शहीदहरूलाई श्रद्धासुमन अर्पण गर्न चाहन्छु। माथिको शीर्षक देखेर पाठकहरूलाई पक्कै पनि दशनामी र दशदलीय गठबन्धनको के सम्बन्ध रहेछ त भनेर यो लेख पढ्ने अभिरुचि पलाउन सक्छ।
यहाँहरूले मलाई राजनीतिक विश्लेषक बन्न खोजेको आक्षेप नलगाइ राजनीतिमा रुचिराख्ने सामाजिक तथा लोकतन्त्रको शुभचिन्तकको रुपमा हेर्नू हुनेछ भन्ने विश्वास लिएको छु। लोकतन्त्रलाई मलजल गरि हुर्काउनु पर्दछ भन्ने मान्यता मेरो पनि रहेको छ। तर म कुनै पनि दलको अन्धभक्त नभएको व्यहोरा अनुरोध गर्न चाहन्छु। देशमा कोहि भोका नाङ्गा नरहून, शिक्षाको उज्यालो घामबाट कसैले पनि बञ्चित हुनु नपरोस भन्दा राजा महाराजाहरूको वाणी उपदेश नसम्झीदिन हुन समेत अनुरोध गर्न चाहन्छु। यो लेख विद्यार्थी भाइबहिनी तथा लोकसेवा आयोगको तयारीमा रहनु भएका परीक्षार्थी समेतलाई सहयोगीसिद्ध हुने कुरामा विश्वस्त छु।
२०७९ फाल्गुण २५ गते बिहीबारका दिन देशले अभिभावक पाएको दिन हो। हुन त जुन जोगी आए पनि कानै चिरेका भने जस्तै हो, देशले राष्ट्रपति पाएको छ । ढिलै भएपनि नवनिर्वाचित राष्ट्रपतिज्यूलाई बधाई छ भन्न चाहन्छु। हुन त सर्वसाधारण मान्छेले सामाजिक सञ्जालमार्फत अमेरिकाको राष्ट्रपतिलाई बधाई सन्देश लेख्नु र नेपालको राष्ट्रपतिलाई बधाई सन्देश लेख्नु उस्तै उस्तै हो। तर पाठकहरूले बधाई सम्म पनि लेख्न कन्जुस्याइँगर्ने असभ्य नागरिकको उपमा देलान कि भनेर बधाई शब्द लेख्न बिवस छु। मैले नेपालका राजनीतिक दलहरूलाई मेरो बुझाई अनुसार फरक फरक तरिकाले हेर्ने गरेको छु। बधाई सन्देश दिदैगर्दा सम्बन्धित व्यक्ति, निकायसम्म नपुगे पनि भरखरै नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रसाद सावदज्यूलाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु।
मैले नेपालको सात दलीय गठबन्धनलाई सप्तऋषिसंग तुलना गरेर हेरेको छु। कुनै समयमा नेपालमा सात दलीय गठबन्धन पनि थियो सायद । सप्तऋषिसंग तुलना गर्दा पक्कै पनि मलाई पाठकज्यूहरूले सात दलको पक्षधर भन्लान, त्यसो चाहिँ होइन है। सप्तऋषि को को रहेछन? भन्ने जिज्ञासामा सप्तऋषिहरूको नाम उल्लेख गर्नु सान्दर्भिक हुन्छ होला।
सप्तऋषि शब्द सात र ऋषि मिलेर बनेको शब्द हो। जसको अर्थ सात जना ऋषि भन्ने लाग्छ । सप्तऋषि ब्रह्माका मानसपुत्र हुन्।
सप्तऋषि समूह : १.कश्यप २.अत्रि ३.भारद्वाज ४.गौतम ५. यमदग्नि ६. वशिष्ठ ७. विश्वामित्र
माथि उल्लिखित सप्तऋषिहरूसंग सातदल र दलका नेताहरूको गुण मिल्दथ्यो वा मिल्दैनथ्यो, त्यसको विश्लेषणगर्ने पालो यहाँहरूलाई नै सुम्पेको व्यहोरा अनुरोध गर्न चाहे। माथि मैले सप्तऋषिहरूसंग देशका राजनीतिक दलहरूलाई तुलना गरेपनि दलहरूको रुप,रङ्ग, गुण केहि पनि मिल्दैन भन्दा किन तुलना गर्नु परेको होला भन्ने जिज्ञासा पाठकवर्गमा उत्पन्न हुनु स्वभाविक नै हो।
तर यो लेख पढ्ने विद्यार्थीहरू, लोकसेवा आयोगको तयारीमा रहनु भएका परीक्षार्थी समेतलाई सामन्यज्ञानको परीक्षामा उपयोगी सन्दर्भ सामग्रीको रुपमा सहयोगी सिद्धहुने कुरालाई मध्यनजर गर्दै महाभारत तथा केही पौराणिक ग्रन्थहरूलाई यो लेखसंग जोडेर वयानगर्ने प्रयास गरिएको छ। देशमा शान्ति, स्थायित्व र विकासकालागि सप्तऋषिहरूबाट सम्भव नभएपछि पाँच दलीय गठबन्धन बन्न पुग्यो। मैले ती पाँच दललाई पाण्डु पुत्र पाँचभाइ पाणडवहरूसंग तुलना गरेको छु। जुन “देशको जुरमुराउँदो लोकतान्त्रिक व्यवस्था“ शीर्षकमा उल्लेख गरेको व्यहोरा अनुरोध गर्दछु । उक्त भनाईमा कुन्ती र माद्री बाहेक अरु नारीहरूको पनि अदृश्य भूमिका रहेको मेरो बुझाई रहेको थियो। पाँच दलीय गठबन्धन पनि असफलभई आठ दलीय गठबन्धन बन्न पुग्यो। आठ दलीय गठबन्धनलाई मैले महर्षि अष्टावक्रको बाङ्गोटिङ्गो भौतिक शरीरसंग तुलना गरेको थिए। जुन कुरा मैले “नेपालको राजनीति र अष्टावक्र ऋषि“ भन्ने शीर्षकमा उल्लेख गरेको छु।
अहिलेको दश दलीय गठबन्धन संग दशनामीको नाम जोड्नु त मेरो अपरिपक्वता पनि हुन सक्छ । तर दश दललाई दशनामीको नामसित संयोग मात्र जुराउन खोजेको छु। दशनामीको नाम लिदै गर्दा निजहरूको सामान्य परिचय पनि उल्लेखगर्नु सान्दर्भिक देखिन्छ।
१. गिरी :
दशनामी समाजमा करिब ९० प्रतिशतभन्दा बढी संख्या गिरीहरूकै रहेको छ। कतिपय दशनामी जस्तै : पर्वत, अरण्य, सरस्वती आदिले आफ्नो वास्तविक थर नलेखी सजिलोका लागि गिरी लेख्ने गरेको पाइन्छ। आर्य संस्कृतिका विद्वानहरू, जो पहाडको कन्दरामा हिमालमा जान्थे, रहन्थे, तिनीहरूका सन्तान नै कालान्तरमा गिरी भएका हुन।
२. वन :
वानप्रस्थहरूका लागि वैदिक आर्यहरू वन जाने गर्थे। वनमा बसी आफूले जीवनभर आर्जन गरेको शस्त्र शास्त्रसम्बन्धी ज्ञान व्रह्मचारी शिष्यहरूलाई सिकाउने गर्थे। ताकि आर्यमा लडाकुहरूको कमी हुन नपाओस् साथै आर्य संस्कार लोप नहोस्। वनलाई पाठशालाको रूपमा अगाडि बढाएको ठाउँमा पक्कै पनि सुविधा थिएन, मर्यादा थियो। अभावमा खारिएर, कष्ट सहेर ज्ञान आर्जन गरी आर्य युवाहरू आफ्ना कर्म निर्वाह गर्न ग्राम फर्किन्थे। वनमा रमेका आचार्यहरूका सन्तानले कालान्तरमा आफ्नो पहिचान गराउन नामका पछाडि ‘वन’ लेख्न थाले।
३. पर्वत :
नारदका समकालीन फिरन्ते एक जना ऋषि थिए पर्वत। प्रकृतिमा नै रम्न थालेपछि पर्वत ऋषि देवले समाजमा नारदजति ख्याती पाउन सकेनन्। अर्को प्रसंग पार्वतीका बुवा पर्वतहरूका राजा हिमालय पनि त दशनामी संन्यासी मध्येकै पर्वत थिए।
४. अरण्य :
दक्षिण भारतमा वनलाई अरण्य भन्ने गरिन्छ। आर्य भूमि विस्तार गरिँदा आर्यहरू भागेर अरण्य गई लुक्ने र त्यहीँबाट आक्रमण गर्ने गर्थे। कतिपय आर्यहरू धर्म, संस्कार, आचरण, अपराधका कारण दण्डित पनि हुने गर्थे। त्यस्ता पनि दण्डबाट बच्न अरण्यमा गई बस्न थालेका थिए। दण्ड पाएकाहरूलाई पनि दण्ड स्वरूप वनवासका निमित्त अरण्यमा पठाइन्थ्यो। मर्यादा पुरुषोतम राम पनि १४ वर्षको वनावासका लागि अरण्य गएको रामायणमा उल्लेख छ।
५. सागर :
विजय प्राप्त गर्दै आर्य संस्कृति प्रसार गर्दै हाम्रा आर्य पुर्खाहरूले सागरसम्म आर्य पताका फहराएका थिए। हो, तिनै आर्य पुर्खाहरू सागर (समुद्र) किनारामा बसी गुरुकुल स्थापना गरी भारतवर्षको रखवारी गर्थे। सीमामा शस्त्र र शास्त्रले आर्य संस्कृति र भूमिको रक्षा गर्थे। यति मात्र नभएर उनीहरूले राम्रा नश्लका घोडा, गाई र भेडा पनि पालन गरी नश्ल सुधार गरेका थिए।
६. तीर्थ :
धर्मिक स्थललाई तीर्थ पनि भनिन्छ। धार्मिक स्थल (तीर्थ) मा सन्यासीहरू भगवानको पूजा गर्ने गर्दथे। पूजा मात्र गर्ने होइन, रेखदेख, स्याहार सुसार पनि गर्ने गर्थे । संन्यासीहरूले धार्मिक स्थललाई राम्रोसँग सञ्चालन गरी दूर देशसम्म सोको प्रतिष्ठा बढाएका थिए। संन्यासीहरूले कायम गरेको व्यवस्था अवलोकन गर्न मानिसहरू तीर्थ यात्रामा जाने गर्थे र गर्दै पनि छन्। संन्यासीहरूले सञ्चालन गरेका धार्मिक स्थल अरूहरूका भन्दा भिन्न हुन्थे। सेवा र कर्तव्य ठानेका संन्यासीहरू सामु एउटै लक्ष्य हुन्थ्यो, तीर्थयात्रुलाई कुनै कष्ट नहोस्।
७. आश्रम :
आर्य पुर्खाहरू आश्रममा बसी प्रेम बाँड्ने गर्थे। आर्य ऋषि वा गोत्रप्रवर्तक प्रत्येक ऋषिको आआफ्नै आश्रम भएका पाइन्छ। तर, गोत्र प्रवर्तक ऋषिहरू प्रेममुक्त थिए । उनीहरूको सामाजिक जिम्मेवारी पछिल्लो समयमा भने नगण्य हुन गयो। आश्रममा बसेर आर्य संस्कृति र आर्य उत्थानका बारेमा विचरण गर्नु र राजाहरूलाई सही मार्ग दर्शन दिनु उनीहरूको कर्तव्य थियो। त्यही आश्रमवासी संन्यासी, जो भार्गव जमदग्निका सन्तति थिए, तिनले ‘आश्रम’लाई थरको रूपमा अपनाए।
८. सरस्वती :
सप्तसिन्धुको प्राचीन पवित्र नदी सरस्वती किनारमा आर्य सभ्यता पल्लवित भई फस्टाएको हो । तत्कालीन धेरै आर्यले सरस्वतीलाई आमाको रूपमा स्मरण गरेका थुप्रै ऋचाहरू वेदमा समेटिएका छन्। सरस्वती किनारमा आश्रम स्थापना गरी ज्ञानको ज्योति छरी आर्य संस्कार टिकाएकाहरूका सन्तान सरस्वती बन्न पुगे।
९. पुरी :
वैदिक साहित्यमा पुर र पुरी शब्द पर्याप्त पाइने गरेका छन्। पुरको अर्थ हो, ग्राम परिवेशबाट विकास भई शहरको रूप धारण गरेको स्थान। तर, पुरीचाहिँ मन्दिरको नामले ख्याति कमाएको ठाउँ हो।
१०. भारती :
विश्वामित्र र दिवोदासको कुल भरत थियो– साथै सकुन्तलापुत्र भरत पनि प्रतापी थियो। यी २ मध्ये कुनै १ बाट सिंगै क्षेत्र भारतवर्ष कहलायो। यहाँ भन्न खोजेको कुरो वैदिक भरत जनका सन्तान नै अहिलेका भारती हुन्।
नेपालमा अहिले ठुला राजनीतिकदलहरूप्रतिको जनतामा विश्वास घटिसकेको छ। केही समयकोलागि राष्ट्रिय स्वतन्त्र पार्टीले ठाउँ ओगटेको जस्तो देखिन्छ। पटक पटक शब्द दोहोर्याउँदा पाठकहरूलाई पट्यार लाग्न सक्छ, “जुन जोगी आएपनि कानै चिरेका“ भने जस्तै आकाशै त खस्दैन होला। जे होस यस उप–निर्वाचनमा विजेता तथा उपविजेताहरूलाई पनि बधाई दिन चाहन्छु। मैले यसरी कुनै पार्टीको गुनगान गाएको आरोप लगाएर पाठकले मलाई कुनै पार्टीको बिल्ला पो भिराउने हुन कि ? तर म कुनै पार्टीको अन्धभक्त भने होइन है। मेरो ब्रह्मले ठिक वा वेठिक के भन्छ, म पनि त्यहि भन्दछु।
मैले माथि उल्लेख गरेका कुराहरूमा सप्तऋषिसंग सातदलको चरित्र मिल्दथ्यो वा मिल्दैनथ्यो। पाँचदलीय गठबन्धनको र उक्त दलका नेताहरूको चरित्र पाण्डवहरूको चरित्रसंग मिल्दथ्यो वा मिल्दैनथ्यो तथा आठ दलीय गठबन्धन महर्षि अष्टावक्रको भौतिक शरीरसंग तुलनागर्नु सान्दर्भिक थियो कि थिएन ? मैले महर्षि अष्टावक्रसंग राजनीतिक दलहरूको चरित्र जोड्नु त मेरो महान भूल हो। तथापि अष्टावक्र मिथिला नरेश राजा जनकको सभामा जाँदा उनको भौतिक शरीर देखेर जसरी हँसि उडाएका थिए, वास्तवमा महर्षि अषाटावक्र महान ऋषि थिए।
भौतिक शरीर मात्र आठ ठाउँमा बाङ्गोटिङ्गो थियो। त्यसैले नेपालका राजनीतिक दलहरू पनि विचार, सिद्धान्त केही नमिलेका राजनीतिक स्वार्थकालागि मात्र एक भएका भन्नमा अतिशयोक्ति नहोला। हालको दश दलीय गठबन्धन दशनामीहरूको चरित्रसंग मेल खान्छ कि खादैन। यो कुराको विश्लेषण र समीक्षा तथा मूल्याङ्कनको जिम्मा यहाँहरूले नै लिनु हुनेछ भन्ने कुरामा विश्वस्त छु।
यो लेखमा जे लेखिए पनि जुन सुकै जाति, व्यक्ति, समूहसंग तुलना गरेपनि उल्लिखित सबैलाई उच्च सम्मान गर्दछु, तर रानीतिक दलहरूलाई भने होइन है। मैले यस लेखमा नेपालका दलीय गठवन्धनलाई गाईजात्रासंग तुलनागर्नु सान्दर्भिक ठानेको छुँ। यसरी विभिन्न जात जाति समूहहरूसंग राजनीतिक दलहरूको तुलनागर्दा नेपालको लोकतान्त्रिक व्यवस्था कतातिर ? के नेपालमा लोकतन्त्र फस्टाएकै हो त !
मान सिंह धामी (भौनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ –४
गोठ्युडी, दार्चुला