दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यासमा हतार, निर्माणमा बेवास्ता
धनगढीः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मा कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यास गरे। त्यसयता दुई वर्ष बिते पनि शिलान्यास गरेको ठाउँमा आधारभूत पूर्वाधारसमेत निर्माण हुन सकेको छैन। औद्योगिक क्षेत्र निर्माणका लागि रुख छपानको काम भइरहेको भए पनि जग्गाको भोगाधिकार दैजी–छेला औद्योगिक क्षेत्रले पाउन सकेको छैन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आईडीएम)का निमित्त महाप्रबन्धक सञ्जयलाल मानन्धरले औद्योगिक क्षेत्रको नाममा जग्गाको स्वामित्व हस्तान्तरण हुन नसकेको बताए। दैजीमा काम गर्ने वातावरण भए पनि पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन्। औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान अहिले हुन्छ कुनै टुंगो छैन।
सुदूरपश्चिममा पहिलो पटक नयाँ औद्योगिक क्षेत्र शिलान्यास हुँदा औद्योगिक वातावरण बन्ने र व्यवसाय गर्न ठूलो लगानी जग्गा खरीदमै गर्नुपर्ने बाध्यता हट्ने आकलन गरिए पनि हालसम्म पूर्वाधार निर्माणको थालनी हुन सकेको छैन। तत्कालीन प्रधानमन्त्री ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास सो वर्षको फागुन १० गते गरेका थिए।
आईडीएमले शिलान्यासको ५ वर्षभित्रमा सबै औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने योजना बनाएको थियो। तर, दुई वर्ष प्रक्रियागत तयारी र वन व्यवस्थापनमै अल्झिएको छ। आईडीएमका अधिकारी राजनीतिक दल तथा स्थानीय तहबाट सहकार्य र सहयोग नभएसम्म औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मात्रै यी क्षेत्रमा पूर्वाधार बनाउन र उद्योग स्थापनामा सघाउन नसक्ने बताउँछन्।
‘नयाँ औद्योगिक क्षेत्रमा देखिएको समस्याको समाधान अब आईडीएमले मात्रै गर्न सक्दैन,’ उनले भने, ‘घोषणा र शिलान्यासमात्रै नभई सरकारको प्राथमिकता र राजनीतिक दल/स्थानीयस्तरका दलहरूबाट उत्तिकै पहल र सहयोग चाहिन्छ।’ चालु आर्थिक वर्षका लागि एक अर्ब बढी दैजी–छेला औद्योगिक क्षेत्रको नाममा बजेट विनियोजन गरिएको भए पनि रुख छपानबाहेकको काम अघि बढ्न सकेको छैन्।
मुख्य विषय औद्योगिक क्षेत्रको नाममा जग्गाको स्वामित्व नआउँदासम्म निर्माण अघि बढ्ने विषयमा यहाँको निजी क्षेत्र विश्वस्त छैन्। २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन। ९ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने उल्लेख थियो।
औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ। औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन्।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकोे उच्च्स्तरीय टोलीले दुई पटक अनुगमन गरी २०५२ र २०६६ सालमा बेदकोटको छेलामा औद्योगिक क्षेत्र बनाउन उपयुक्त ठहर गर्दै मन्त्रालयमा राय पेश गरेको थियो। दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो। त्यसपछि आर्थिक वर्ष २०७१/७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो।