राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलाडीलाई बिदाई
धनगढीः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेल्न जाने खेलाडीलाई कैलाली जिल्ला खेलकुद समितिले बिदाइ गरेको छ। १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता खेल्ने खेलाडीहरूलाई बिदाई गरेको हो। सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले प्रदेशका विभिन्न जिल्लामा प्रतियोगिता खेलाउने व्यवस्था गरेको छ।
जिल्ला खेलकुद समितिले शनिवार अछाम खेल्न गएका करातेको टोली, डडेल्धुरा खेल्न गएको तेक्वान्दो टोली, डोटी गएको भलिबल र कन्चनपुर गएको कवडीको टोलीलाई बिदाई गरेको छ। बिदाइ कार्यक्रममा समितिका अध्यक्ष ललित खत्री, कार्यालय प्रमुख दीपकबहादुर सिंह, तेक्वान्दो प्रशिक्षक देवराज चौधरी, नेपाल एथलेटिक्स संघका वरिष्ठ उपाध्यक्ष तथा सुदुरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष तेजेन्द्र थापा, सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्य नाथ पाण्डेयको सहभागिता रहेको थियो।
उनीहरुले खेलाडीहरूलाई अबिर र खादा लगाई बिदाई गरेका हुन। बिदाइ कार्यक्रममा समितिका अध्यक्ष खत्रीले खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै अनुशासित भएर खेल्न र भावना अनुसार प्रतिस्पर्धा गर्न आग्रह गरे। उनले कैलाली जिल्लालाई पुनः च्याम्पियन बनाउन सबै खेलाडीहरूलाई आग्रह गरे।
यस्तै नेपाल एथलेटिक्स संघका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाले सम्पूर्ण खेलाडीहरूलाई बधाई एवं शुभकामना व्यक्त गर्दै खेलकुदमा सिकेको अनुशासनलाई व्यक्तिगत जीवनमा समेत अनुसरण गर्न आग्रह गरे। कार्यक्रमको सञ्चालन कैलाली जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दीपकबहादुर सिंहले गरेका थिए।