धनगढीमा १३२ केभी सब–स्टेसन निर्माणको तयारी, तीन महिनाभित्रै ईआईए
धनगढीः नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र रहेको स्थानमा १३२ केभीको सब–स्टेसन निर्माण गर्न वातावरणीय प्रभाव मूल्याँकन गर्न ठेक्का सम्झौता गरिएको छ। प्राधिकरणले सब–स्टेसन निर्माण र १३२ केभी प्रसारण लाइन विस्तारको अध्ययन गरेकोमा वातावरणीय प्रभाव मुल्याँकन (ईआईए) गर्न ठेक्का सम्झौता गरेको हो।
प्राधिकरणले तीन महिनाभित्र ईआईएको काम पूरा गर्ने लक्ष्य लिएको छ। धनगढी विद्युत वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले वैशाखमा लाइन विस्तार क्षेत्रको वातावरणीय अध्ययन हुने बताए। उनले मोहनाको छेउछेउमा पर्ने रुखहरु कटानी गर्नुपर्ने बताए।
वितरण केन्द्रको कार्यालय परिसरमा सब–स्टेसन निर्माण हुनेछ। धनगढी वितरण केन्द्रका कर्मचारीको आवास रहेको क्षेत्रमा नयाँ १३२ केभी सब–स्टेसन निर्माण हुँदैछ। विद्युत प्राधिकरणले अत्तरियाको गोदावरी नदी हुँदै मोहनाको छेउबाट १३२ केभीको प्रसारण लाइन धनगढी ल्याउने छ।
विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले धनगढीमा सब–स्टेसन निर्माणपछि मात्र विद्युतको समस्या समाधान हुने बताए। ईआईए स्वीकृतपछि मात्र प्राधिकरणले १३२ केभी प्रशासरण लाइन तथा सब–स्टेसन निर्माणका लागि ठेक्का सम्झौता गर्नेछ। तीन वर्षभित्र सबै काम पूरा गर्ने लक्ष्य छ।
मोहना नदीको छेउबाट १३२ केभीको प्रसारण लाइन आउने छ। धनगढीमा १३२ केभीको नयाँ स्टेसन निर्माणपछि मात्र धनगढीको विद्युत समस्या समाधान हुने छ। धनगढीमा गर्मी मौसममा अधिकतम २५ एमभिए विद्युत आवश्यक हुन्छ। धनगढीमा १३ मिटर उचाईका पोल गाडेर ३३ केभीको विद्युत लाइन विस्तार हुँदैछ।
धनगढीमा विद्युतको १३२ केभीको सब–स्टेसन निर्माण गर्न वातावरणीय प्रभाव मुल्याँकन गरिदैछ। धनगढीको विद्युत खपतको मागलाई पूरा गर्न प्राधिकरणले १३२ केभीको सब–स्टेसन निर्माणका लागि ईआईएको ठेक्का गरिसकेको छ। प्राधिकरणले वैशाखमा ईआईएको अध्ययन गर्ने र तीन महिनाभित्र प्रतिवेदन तयार हुने लक्ष्य लिएको छ। वातावरणीय प्रभाव मुल्याँकन गरिएपछि सब–स्टेसन निर्माणको बाँकी काम सुरु हुनेछ।