कञ्चनपुर बाघ आक्रमण : महिला अझै बेपत्ता, खाजीकार्य जारी
कञ्चनपुर: बाघको आक्रमणमा बेपत्ता कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्द आज बिहानसम्म अँझै फेला परेकी छैनन्।
शुक्रबार करिब विहान ९ बजे तिर घाँसकाटिरहेकी महिलालाई बाघले आक्रमण गरेको हो। बाघलाई नियन्त्रण लिन र बेपत्ता पारिएकी महिलाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको प्राविधिक टोली रातीको करिब ९ बजेतिर खप्टिनालामा छिरेको थियो। करिब राती ५ घण्टा भन्दा बढी नालाको झाडीमा प्राविधिक टोलीले खोजतलास गर्दा अहिले सम्म केहि फेला पार्न सकेको छैन्।
उद्धारका लागि ल्याइएका ४ हात्ती दिनभरीको हिडाइले थाकेका कारण रातीको साढे १२ बजे खोजकार्य स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डांगीले बताए। प्राविधिक टोलीले आज (शनिवार) विहान ७ बजेबाट पुनः खोज कार्य जारी गरेको डांगीले जानकारी दिए। बेलौरी नगरपालिका ८ पचुई गाउँका ४÷५ जना महिलासँगै घाँस काटन गंगा देवी चन्द बिहान खप्टिनाला क्षेत्रमा गएकी थिइन।
बाघको आक्रमणपछि उनी बेपत्ता भएकी थिइन। शुक्रवार खोजी कार्यमा ढिला गरेको भन्दै स्थानीयहरु आक्रोशित हुदै उनीहरुले ढुंगा प्रहार गर्दा एक जना प्रहरी कर्मचारी घाइते भएका थिए। ड्रोन क्यामेरामा देखा परेको बाघलाई अहिले सम्म नियन्त्रणमा लिन नसक्दा पुनः आक्रमण हुन सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन्।
स्थानीयले भीडबाट ढुंगा प्रहार गर्दा एक जना प्रहरी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक (सई) चन्द्र खडायत घाइते भएका हुन्। आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दा उनको टाउँकोमा चोट लागेको हो। घाइतेलाई उपचारका लागि बेलौरीस्थित अस्पताल लगिएको थियो अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।