कर्णाली र्याफ्टिङ जम्बोरीः डेढ करोड सक्ने मेसो, जलयात्री नपाएपछि एक दिनमै सकियो
विश्व किर्तिमान राख्ने लक्ष्य राखेर डेढ करोड बजेट बिनियोजन गर्दै सुरु गरिएको कर्णाली र्याफ्टिङ जम्बोरी एक दिनमै सकिएको छ। आज सर्वसाधारणका लागि ¥याफ्टिङ राखिएको भनिएपनि ¥याफ्टिङ गर्न कोहि ईच्छुक नदेखिएपछि एक दिनमै जम्बोरी सकिएको जिल्ला समन्वय समिति कैलालीले जनाएको छ। कैलालीको मोहन्याल गाँउपालिका र जिल्ला समन्वय समिति कैलालीको समन्वयमा र्याफ्टिङ जम्बोरी तीन दिन सम्म सञ्चालन हुने तयारी थियो। तर जलयात्री नै नभेटिएपछि एक दिनमै कार्यक्रम सकिएको समन्वय समितिले जनाएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कर्णाली नदीमा ¥याफ्टिङ जम्बोरी गरिएको थियो। कर्णालीमा १ सय ११ ओटा र्याफ्टिङबाट १ हजार एकसय दश जनालाई जलयात्रामा सहभागी गराउने लक्ष्य रहेपनि लक्ष्य अनुसार सहभागिता पहिलो दिन पनि हुन सकेन्। ५३ वटा र्याफ्टिङबाट ५ सय जनाको हाराहारीमा मात्रै सहभागिता रहेको थियो।
¥याफ्टिङ जम्बोरीका लागि डेढ करोड बढि बजेट विनियोजन भएपनि लक्ष्य अनुसारको सहभागीता हुन नसकेपछि तीन दिनको कार्यक्रम एक दिनमै सकेको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिह रावलले बताए। यस अघि गोदावरी च्याम्वर अफ कमर्सले पनि कर्णाली नदीको सोही रुटमा र्याफ्टिङ गर्दा १३ लख मात्रै खर्च भएको थियो। उक्त र्याफ्टिङमा ६० भाडाका र बाँकी सुरक्षा निकायका ¥याफ्टिङ सहभागी गराईएको थियो। चेम्वरका अध्यक्ष विनोद मल्लका अनुसार सो समयमा एक जनाबाट २१ सय मात्रै शुल्क लिईएको थियो तर जिल्ला समन्वय समितिले गरेको र्याफ्टिङमा भने प्रतिव्यक्ति ३१ सय शुल्क लिईएको थियो। तर त्यो भन्दा कम ¥याफ्टिङबाट कम जनालाई सहभागीता गराउँदा पनि सरकारी कार्यक्रममा भने डेढ करोड बजेट विनियोजन गरिएको छ। पहिलो दिन कर्णाली नदीबाट सोल्टाबाट शुरु भएको २३ किमी र्याफ्टिङ करीव तीन घण्टामा पुरा भएको थियो।