सुदूरमा चार सहरी सडक निर्माणको समय सकिदैँ, कहाँ पुग्यो फोहोर व्यवस्थापन?
धनगढीः सुदूरपश्चिममा चार सहरी सडक निर्माणको समय सकिँदै छ। एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण सहयोगमा कैलाली र कञ्चनपुरका दुई/दुई गरी चारवटा सहरको पूर्वाधार विकासअन्तर्गतको सडक स्तरोन्नतिको काम कछुवा गतिमा छ। धनगढी उपमहानगरपालिकामा साउनमै सकिने करिब ४६ किलोमिटर ढल, नालीसहितको सडकको प्रगति ६५ प्रतिशत पनि पुग्न सकेको छैन्।
निर्माण कम्पनीलाई दोस्रो पटक असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ। बाँकी ३७ प्रतिशत अहिलकै गतिमा काम भएमा निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्न मुस्किल देखिएको छ। निर्माण कम्पनी र सहरी विकास कार्यान्वयन इकाइ तथा संघीय सहरी विकास आयोजनाले भने अन्तिम समय सीमाभित्र काम पूरा गरिसक्ने दाबी गरेका छन्।
क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका प्रमुख रमेश सिंहले थप म्याद दिएको असार मसान्तसम्मको सीमाभित्र निर्माण कम्पनीले काम सक्ने अपेक्षा गरेका छन्। ‘रुख कटान, विद्युत लगायत समस्याका कारण अहिलेकै अवस्थामा काम सम्पन्न हुने अवस्था देखिदैन। हामीले चाहेर पनि रुख कटान विद्युत समस्या समाधान गर्न सकिने अवस्था छैन्।
विद्युतर रुखको समस्या मात्र हल भए निर्धारित समयमा काम पुरा गर्न सकिन्छ।’ एडीबीको सहयोगमा धनगढी उपमहानगर, भीमदत्त, शुक्लाफाँटा र गोदावरी नगरभित्रको करिव ४५ दशमलव ६९ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको हो। चारवटै सहरमा गरी अहिलेसम्म ७० प्रतिशत काम पुरा भएको आयोजनाको दाबी छ।
आयोजनाका इन्जिनियर सञ्जीवकुमार शाहका अनुसार कालिका कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिकाभित्र १० दशमलव २५ किमि सडक र सडकको दुवैतर्फ २० दशमलव ४५ किमि नाली निर्माणको ठेक्का सम्झौता गरेको छ। जसमध्ये प्रगति ६४ प्रतिशत मात्रै भएको छ। कम्पनीले उक्त ठेक्का २ पटक म्याद थप गरेको छ। अन्तिम थप म्यादको समय असार मसान्तसम्म छ।
२०७७ असार २८ मा कालिका कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो। जसमध्येको धनगढी चौराहदेखि कैलाली खोलासम्मको एक हजार ३८० मिटर मुख्य सडकको २४ मिटर चौडाइमा स्तरोन्नति गर्ने ठेक्काको निर्माण कार्यको सुरुवात फागुनदेखि मात्रै गरेको छ। निर्माण कम्पनीले म्याद थप्ने प्र्रस्तावअघि मुख्य सडकको कैलाली पुलदेखि नाला बनाउने कामको सुरुवात मात्रै गरेको हो।
निर्माण कम्पनीको दोस्रो पटक थपिएको म्यादसमेत २०७९ पुस २५ गते सकिएको थियो। ठेक्का सम्झौताको पहिलो म्याद २०७९ साउन १८ गतेसम्म मात्रै रहेको थियो। उक्त कम्पनीले धनगढी उपमहानगरपालिकाभित्रको १० दशमलव २५ किमिअन्तर्गत ठेक्का सम्झौताको ७ वटा सडक स्तरोन्नति रहेको थियो। कम्पनीले कुल ठेक्का समझौता ७६ करोड ९० लाख ७६ हजारमा लिएको थियो।
कालिकाले गोदावरी नगरपालिकाभित्रको सहरी सडक तथा नाला निर्माणको काम पनि सम्पन्न गर्न सकेको छैन। गोदावरीमा ७२ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ। गोदावरीमा ठेक्का समझौताअनुसार १६.५३ किमि सडक कालोपत्रे गर्नुपर्नेमा हालसम्म १०.६६ किमि मात्रै पूरा गरेको छ । १०.३०५ किमि नाला निर्माण गर्नुपर्नेमा ९.४९४ किमि मात्रै पूरा गरेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिककाको कुल २२.७१ नाला र १४.१४ किमि सडक निर्माणको ठेक्का जेडआईईसी जेभी कम्पनीले ९९ करोड १८ लाख ४४ हजार ४ सय ४९ मा २०७७ असार २८ मा सम्झौता गरेको थियो। उक्त कम्पनीको २ पटक म्याद थप भएको छ। चारवटै सहरमा एकिकृत फोहोरमैला व्यवस्थापन योजना अन्तर्गत धनगढी र शुक्लाफाँटामा स्थान टुंगो लागेर प्रक्रिया अघि बढेपनि भीमदत्तले भने जमिन पाएको छैन्। गोदावरीमा पनि फोहोर व्यवस्थापनको काम अझै अघि बढ्न सकेको छैन्।