सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भ निरोधक कपर–टीले ११ वर्षदेखि दिएको तनाव ४५ मिनेटमै समाधान

२०८० वैशाख ४, ०७:५५ खबर संवाददाता

धनगढीः अनिच्छित गर्भ रोक्न कपर–टी राम्रो विकल्प मानिन्छ। यसलाई पछिल्लो समय गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय भएको विश्वास गरिँदै आएको छ।

भरपर्दो गर्भनिरोधक भएर नै धनगढी– ५ हसनपुरकी ३६ वर्षीया विनिता (नाम परिवर्तन)ले शल्यक्रिया मार्फत पहिलो सन्तानलाई जन्म दिएपछि कपर–टी  अपनाइन्। तर,कपर–टी राख्ने बेलामा उचित ध्यान नदिँदा महिलाले दुःख पाइरहेका उदाहरणमध्ये विनिता पनि एक हुन् पुगिन। उनले ११ वर्ष पहिले भारतको एक हस्पिटलमा शल्यक्रिया (सिजर)मार्फत सन्तान जन्माएपछि कपर–टी राखेकी थिइन्।

त्यो कपर–टी केही समयपछि निकाल्न खोज्दा भने उनले निकै सकस झेल्नुपर्यो।  उनले यसका लागि स्वास्थ्यकर्मीसँग परामर्श गर्दा कपर–टी पाठेघरको भित्री मासुमा टाँसिएर बसेकाले  बेहोस गरेर मात्रै निकाल्न सकिने जवाफ पाइन्। बेहोस गर्ने कुराले उनी निकै आत्तिइन्। विनिताले सजिलै निकाल्न सकिने उपायका लागि धेरै अस्पताल धाइन्। तर, कतै उपाय नभेटेपछि उनी फर्केरु कपर–टी राखिदिने अस्पतालमै पुगिन्। त्यहाँ पनि सहजै निकाल्न नसकेपछि बेहोस पारियो तर कपर–टी भने  निकाल्न सम्भव नभएको विनिताले सुनाइन्।

कपर–टी राखिएको ११ वर्षपछि उनी धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा आफ्नो समस्या लिएर पुगिन्। उनको समस्या सुन्ने वित्तिकै हस्पिटलकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा नजमुस्वा अन्सारीले विनिताको पाठेघरको भित्री भागको मासुमा टाँसिएको कपर–टी सामान्य दुखाई कम गर्ने औषधिको प्रयोग गरेर दुर्बिनको माध्यमबाट निकालिदिइन्।

‘सामान्य अबस्थामा रहेको कपर–टी निकाल्न ५ देखि ७ मिनेट मात्रै लाग्ने हो’,डा अन्सारीले भनिन्, ‘उहाँको सवालमा पाठेघरको मुख सानो भएको र पाठेघरको भित्री भागमा टाँसिएर बसेका कारण ४५ मिनेट खर्चिनुपरेको हो।’
 

कमेन्ट लोड गर्नुस