सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा दुई सय शय्याको अस्पताल चलाउने तयारी, दरबन्दी स्वीकृतिका लागि प्रस्ताव पेस

२०८० वैशाख ४, ०१:०६ नारायण अवस्थी

धनगढीः प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा आगामी साउनबाट २ सय शय्याको अस्पताल सञ्चालन गर्ने तयारी थालिएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट दरबन्दी स्वीकृत र उपकरण खरिद गर्न सकिए गेटामा साउनबाट अस्पताल सञ्चालन गर्न सकिने बताइएको छ।

अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले साउनबाट २ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको दरबन्दीको प्रस्ताव स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेको बताए। ‘गेटामा साउनदेखि २ सय शय्याको अस्पताल सञ्चालनमा ल्याउन दरबन्दी स्वीकृतिका लागि प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पुगेको छ,’ उनले भने, ‘दरबन्दी र उपकरण खरिदको प्रक्रिया सँगसँगै भयो भने साउनदेखि अस्पताल सञ्चालन गर्न सकिन्छ।’

दुई सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको दरबन्दीको प्रस्ताव एक हप्ता अगाडि नै स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पेस गरेको हो। अस्पताल सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनसँगै उपकरण पनि आवश्यक भएकाले उपकरण खरिदको प्रस्ताव पनि तयार गरिएको छ। जनशक्ति व्यवस्थापन र आधारभूत स्वास्थ्य उपकरणको व्यवस्थापन सँगसँगै भए अस्पताल सञ्चालन गर्न पर्खनु नपर्ने निर्देश डाक्टर जोशीको भनाइ छ।

‘अस्पतालका लागि जनशक्ति र उपकरणको व्यवस्थापन सँगसँगै भए सेवा सञ्चालन गर्न सहज हुन्छ,’ उनले भने, ‘हामीले ओपिडी सञ्चालन गर्न आधारभूत उपकरण खरिद गर्न मन्त्रालयसँग बजेट माग गरेका छौँ; तर, प्रक्रिया प्रारम्भिक चरणमै छ।’ सरकारले गेटामा अस्पताल सञ्चालन गर्न चालु आर्थिक वर्षको बजेटमा स्रोत सुनिश्चित गरिसकेको छ। तर, उपकरण खरिदका लागि अख्तियारी भने दिइसकेको छैन।

उपकरण  र दरबन्दीको प्रस्ताव पेस भए पनि अहिलेसम्म भने थप प्रक्रिया अगाडि बढेको छैन। गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले दक्ष जनशक्ति र उपकरण खरिद गर्न सकिए आगामी साउनदेखि अस्पताल सञ्चालनमा ल्याउन सकिने बताएका छन्। उनले अहिलेबाट दरबन्दी र उपकरण खरिदको प्रक्रिया अगाडि बढे मात्रै साउनदेखि अस्पताल सञ्चालन गर्न सकिने बताए।

‘अस्पतालका केही उपकरण खरिद गर्न अन्तर्राष्ट्रिय बोलपत्र खोल्नुपर्छ। जसका लागि खरिद प्रक्रियामै चार पाँच महिना लाग्न सक्छ,’ उनले भने, ‘जनशक्ति व्यवस्थापन भएअपछि पनि उपकरण खरिद गर्न सकिन्छ तर चार पाँच महिना त्यो जनशक्तिले त्यतिकै काम नगरेर बस्नुपर्ने हुन्छ। त्यसैले उपकरण खरिद प्रक्रिया पनि अहिलेबाट सुरू हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस