सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २३ अर्व लगानीका उद्योग दर्ता, सबैभन्दा बढी धनगढीमा

२०७९ चैत्र २७, ०९:४३

वीरेन्द्र भट्ट, धनगढीः कैलालीमा २३ अर्व बढी लगानी लगानीको उद्योग दर्ता भएका छन्। उद्योग दर्ता सबैभन्दा बढी धनगढी उपमहानगरभित्र देखिएको छ। उपमहानगरभित्र मात्र चार हजारभन्दा बढी उद्योग दर्ता भएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा वार्षिक ८१ अर्व मुल्य बराबरका विभिन्न वस्तु उत्पादन हुने भन्दै विभिन्न प्रकृतिका उद्योग दर्ता भएका छन्।

७५ हजार रोजगारी सिर्जना हुने गरी उद्योग दर्ता गरिएको हो। जिल्लाभित्र घरेलु तथा साना उद्योग दर्ता हुनेक्रम बढेको छ। विभिन्न प्रकृतिका उद्योग दर्ताक्रम वर्षेनि बढ्दै गएको पाइएको छ। जिल्लाका विभिन्न क्षेत्रमा गरी अहिलेसम्म १४ हजार ६३२ उद्योग दर्ता भएका छन्। २३ अर्व बढी लगानी प्रस्तावसहित कृषि, पर्यटन, निर्माण लगायतका उद्योग दर्ता भएका छन्। 

उद्योग दर्ता, लगानी प्रस्ताव, रोजगारी तथा वार्षिक अर्वौ मुल्य बराबरको वस्तु उत्पादन हुने गरी जिल्लाभित्र उद्योगको संख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीका उद्योग अधिकृत कोमलप्रसाद ओझाले बताए। ‘उद्योग दर्ता बढ्नुका साथै उद्योगमा लगानी समेत बढ्दै गएको देखिएको छ। सबैभन्दा बढी उद्योग धनगढी उपमहानगरपालिकाभित्र दर्ता भएको देखिएको छ।’

जिल्लामा कृषिमुलक, उत्पादनमुलक, सेवामुलक र निर्माण सम्वन्धि सबैभन्दा बढी उद्योग दर्ता भएका छन्। दर्ता उद्यमीको संख्या १६ हजार २२२ देखिएको छ। ७५ हजार ७८७ जनालाई रोजगारी दिने प्रस्तावसहित जिल्लाभित्र ठुलो संख्यामा घरेलु तथा साना उद्योग दर्ता भएको कार्यालयको अभिलेख छ। दर्ता भएका उद्योगले ८१ अर्वभन्दा बढीको वार्षिक वस्तु उत्पादन गर्ने प्रस्ताव गरेको समेत पाइएको छ।

सबैभन्दा बढी उद्योग धनगढी उपमहानगरपालिकाभित्र चार हजार ८ सय ८७ तथा सबैभन्दा कम मोहन्याल गाउँपालिकाभित्र १४४ उद्योग मात्र दर्ता भएको पाइएको छ। जिल्लामा चालु आर्थिक वर्ष सुरु भएसँगै उद्योग दर्ताक्रम बढेको छ। उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४० लाख ८१ हजार ४५५ रुपैयाँ राजस्व संकलन गरेको छ। उद्योग दर्तासँगै उद्योग खारेजी पनि वर्षेनि बढ्दै गएको देखिएको छ। लामो समयदेखि उद्योग दर्ता गरेर सञ्चालनमा नआएका १२० उद्योगको यस वर्ष दर्ता खारेजी गरिएको कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस