सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगामी बजेटमा स्थानीय तहले अपनत्व ग्रहण गर्ने प्रदेश सरकारको विश्वास

२०७९ चैत्र २२, १०:३७ नारायण अवस्थी

धनगढीः प्रदेश सरकार स्थानीय आवश्यकताअनुसार आर्थिक वर्षको बजेट ल्याउने तयारीमा जुटेको छ। सरकारले नयाँ सोचका साथ पारदर्शी भएर काम गर्ने र स्रोत साधनको अधिकतम सदुपयोग गरेर प्रदेशको सामानुपातिक विकास गर्न जुट्ने बताएको छ। स्थानीय तहका जनप्रतिनिधिसँगको पूर्व बजेट छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहले पारदर्शी र खुला भएर जनताका वास्तविक मागअनुसार बजेट ल्याउने बताएका हुन्।

प्रदेश सरकारले सुशासन र प्रदेशको समग्र विकासका लागि कसैसँग सम्झौता नगरिने बताइएको छ। प्रदेश सरकार र स्थानीय सरकार बिच सहकार्य र सहअस्तित्व व्यबहारमै कायम हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिले बताएका बेला प्रदेश सरकारले पनि सहकार्यका लागि खुला रहेको सन्देश दिने प्रयास गरेको छ।

धनगढीमा पहिलो पटक ८८ वटै पालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरूको भेला आयोजना गरेर प्रदेश सरकारले आगामी बजेटबारे छलफल गरेको छ। स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर वार्षिक बजेट बनाउँदा र योजना तर्जुमा गर्दा स्थानीय सरकारलाई उपेक्षा नगरिने सन्देश प्रदेश सरकारले दिएको छ।

प्रदेश सरकारको अब आउने बजेटमा स्थानीय तहले अपनत्व ग्रहण गर्ने योजना र कार्यक्रम समावेश गरिने भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बताए। ‘बिगतमा के अभ्यास थियो भन्दा पनि अब राम्रो अभ्यास गर्ने र योजना बनाउँदा स्थानीय आवश्यकता र मागलाई प्राथमिकता दिने प्रदेश सरकारले मान्यता राखेको छ,’ उनले भने, ‘प्रदेश सरकारबाट स्थानीय तहमा जाने बजेट र योजना बढाइने छ।’

प्रदेश सरकारले विगतमा के भयो भन्दा पनि आगामी दिनमा के गर्नुपर्छ भन्ने कुरामा स्पष्ट रहेको बताएको छ। प्रदेशले सञ्चालन गरेका पुराना योजनालाई पूर्णता दिने र नयाँ योजनाको छनोटमा जनताको सहभागिता र स्थानीय तहको अपनत्व हुने गरि योजना र कार्यक्रममा बजेट राख्ने योजना प्रदेश सरकारले गरेको छ।

प्रदेश सरकारले राम्रो काम गरेर देखाउनुपर्ने चुनौति रहेकाले आगामी वर्षबाट सकारात्मक सन्देश जाने किसिमले बजेट ल्याइने आर्थिक मामिला मन्त्री नरेशकुमार शाहले बताए। ‘हामी सबैलाई राम्रो काम गरेर देखाउने जिम्मेवारी जनताले दिएका छन्। तसर्थ जनताको काम गर्न सबैले इमानदार हुनुपर्ने पहिलो सर्त हो,’ उनले भने, ‘प्रदेशले बजेट बनाउँदा स्थानीय माग र आवश्यकतालाई प्राथमिकता दिनेछ। स्थानीय तहले पनि बजेट कार्यान्वयनमा चासो र जिम्मेवारी लिनुपर्छ।’

प्रदेश सरकार जिम्मेवार भएर जनताको काम गर्न दृढ रहेको मुख्यमन्त्री कमलबहादुर शाहको भनाइ छ। विकासको समानुपातिक वितरण र नतिजामुखी विकासका लागि जनप्रतिनिधि र कर्मचारी वर्गले इमानदार भएर काम गर्नुपर्ने मुख्यमन्त्रीले बताए। रकारका काम कारबाहीमा प्रश्न उठ्न नदिने हिसावले काम गर्ने र मुलुक र प्रदेशको रुपान्तरणका लागि व्यक्तिगत स्वार्थ त्यागेर काम गर्ने र स्थानीय तहका जनप्रतिनिधिका सुझावलाई पनि आत्मसात गरेर बजेट ल्याउने मुख्यमन्त्री शाहले बताए।

‘सुशासनका लागि कसैसँग सम्झौता नगरिने उद्देश्यका साथ प्रदेश सरकार अगाडि बढेको छ। सुशासन कायम गर्दै जनताको काम गर्न प्रदेश सरकारमा रहेका मन्त्रीहरू स्पष्ट छौँ,’ उनले भने, ‘जनताको विश्वास जगाउन र प्रदेश सरकारप्रति सकारात्मक भाव पैदा हुने गरि यो सरकारले काम गर्ने विश्वास दिलाउन चाहन्छु।’

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस