सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चोर आतंकः बजारका सिसि क्यामेरा हराए, शहर ८ बजे नै सुनसान

२०७५ चैत्र २१, ०२:४५ नवराज पनेरु

प्रदेशको अस्थायी राजधानी अनि एक मात्र उप–महानगर भएको शहर धनगढी, प्रदेशभरीका सबै बजार भन्दा व्यस्त पनि धनगढी बजार नै हुन्छ। धनगढीमा सबैभन्दा बढी चहलपहल हुने क्षेत्रमा ट्राफीक चौराह पनि पर्छ। ट्राफिक चौराहको नजिकै सरकारी कार्यालय कृषि सामग्री कम्पनी लिमिटेडको सपिङ कम्प्लेक्समा रहेको निहारिका मोवाईल ग्यालरीमा मात्रै बुधवार राती चोरी भयो। ३० लाख बराबरको मोबाइल र ७० हजार नगद चोरी भएको ग्यालरीका सञ्चालक सन्तोष मण्डलले बताएका छन्। ग्यालरीमा रहेको सिसि क्यामेराको सेट समेत चोरी भएको छ। ग्यालरी बाहिर रहेको सिसि क्यामेरा भने बिग्रीएको थियो। सिसि क्यामेरा सञ्चालनमा हुन्थ्यो भने सकमभर चोरी नै हुने थिएन यदि भईहाले पनि प्रहरीलाई चोरीमा संग्लनको खोजीमा निकै सजिलो हुने थियो। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ क्याम्पस चौकमा रहेको ओम आशा अस्पतालमा चोरी भएको पनि एक साता मात्रै पुगेको छ। झ्यालबाट भित्र छिरेर कोठाभित्र राखिएका एक सेट कम्युटर, एक सेट फोटोकपी मेसिन, मल्टीप्लक, सिसिटिभीको रिसिभर लगायतका अन्य सामाग्री सहित ७० हजार बराबरको सामान चोरी गरेर लगेको थियो। 

धनगढी उप–महानगरपालिकाकै वडा नम्बर ४ मा रहेको फेसफुड रेष्टुरेन्टमा पनि यहि साता चोरी भयो। सञ्चालक दिनेश सिंहका अनुसार चोरी गर्ने गिरोहले घरको पछाडीबाट पसेर घरभित्र राखिएको एक थान डि फ्रिज, दुई थान ग्यास सिलिन्डर लगायत अन्य सामाग्रीहरु चोरी गरेको थियो। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ कै आदर्श टोलमा नया निर्माण भईरहेको घरमा समेत चोरी भएको छ। ग्त हप्ता निर्माधीन घरमा झ्याल राखिएको थियो भने सोही दिनको राती पछाडी पट्टी २ झ्यालहरु चोरी भएका हुन्। चिनाईमा च्यापिएको झ्यालहरु दिवाल भत्काएर चोरीएको छ। एउटा झ्याललाई ३० देखी ४० हजारसम्म पर्ने भएकाले करिव ६० हजार भन्दा बढी नोक्सानी घर मालिक लवदेव भट्टले बताए। यस्ता चोरीका घटनाहरु धनगढी बजार क्षेत्रमै पछिल्लो एक महिनामा दर्जनौ पटक भएका छन्। तर प्रहरीले न चोरीमा संग्लनलाई पक्राउ गर्न सकेको छ न त चोरीका घटना दोहरीन नदिनका लागि सुरक्षा सतर्कता बढाउन सकेको छ। 

सिसि क्यामेरा हराए
प्रदेशको अस्थायी राजधानीमा धनगढीमा चोरीका घटनाहरु बढ्दै गएका बेला मुख्य बजारमा जडान गरिएका सिसि क्यामेरा भने गायब भएका छन्। कैलाली उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको पहलमा धनगढी बजारमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएको लामो समय सम्म भएको थियो तर अहिलेका प्रहरी अधिकारीलाई भने सिसि क्यामेराको बारेमा जानकारी समेत छैन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धनगढी बजार क्षेत्रमा सिसि क्यामेरा नै जडान नभएको बताए। 

उनले व्यापारीहरुले आ–आफ्नो सुरक्षाका लागि सिसि क्यामेरा जडान गरेपनि समग्र बजार क्षेत्रको सुरक्षाका लागि सिसि क्यामेरा जडान नभएको उनको तर्क थियो। तर दुईवर्ष बजार क्षेत्रको सुरक्षाका लागि १२ वटा सिसि क्यामेरा जडान गरेको अनि त्यस्को निगरानी कक्ष जिल्ला प्रहरी कार्यालयमै रहेको विषयमा स्वयम प्रहरी नायब उपरीक्षक बस्नेतले अनभिज्ञता प्रकट गरेका हुन्। बजारमा बढ्दै गएको अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने र दुर्घटना गरेर भाग्नेलाई समात्न सजिलो होस भनेर २०७३ साल माघमा कैलालीका तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्र विष्ट र कैलाली उद्योग वाणिज्य संघले १२ वटा सिसि क्यामेरा जडान गरेका थिए। तर ति क्यामेराहरु विग्रएको विषयमा यस अघिका प्रहरी प्रमुखहरुले जानकारी दिएपनि अहिलेका प्रहरी नायब उपरीक्षकले भने क्यामेरा नै जडान नभएको दाबी गरेका हुन्। सिसि क्यामेरा बिग्रीएपछि निगरानी कक्ष पनि हटाईएको हुन सक्ने बजार क्षेत्रका व्यापारीहरुको आशंका छ। 
धनगढीका बैंक तथा वित्तिय संस्थाहरु, व्यापारीहरु र व्यक्तिहरुबाट मात्रै कैलाली उद्योग वाणिज्य संघको खातामा सिसि क्यामेरा जडान प्रयोजनका लागि १७ लाख ५६ हजार रकम जम्मा  भएको थियो। त्यसमा थप कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवमा मैदान प्रयोग गरे बाफतको दुई लाख पनि सिसि क्यामेराकै लागि दिएको थियो। यस्तै सिसि क्यामेरा जडानमा युएनडिपिको साढे चार लाख रकम समेत खर्च गरिएको थियो। तर लार्खाैँ बजेट खर्च गरेर जडान गरिएका सिसि क्यामेरा हराएपछि सिसि क्यामेरामा गरिएको लगानी बालुवामा पानी भएको छ। 

प्रहरीको नीति रातमा शहर सुनसान
अहिलेको कैलाली प्रहरीको नीति रातको समयमा शहर बजार नै सुनसान पार्ने रहेको छ। मुख्य बजार क्षेत्रमा रहेका होटल, रेष्टुरेन्टहरुलाई पनि राती १० बजेपछि सञ्चालनको अनुमती छैन्। राती १० बजेपछि धनगढी बजार क्षेत्रमै पनि आवतजावत गर्न मुस्किल हुने गरेको छ। विभिन्न क्षेत्रमा रात्रीकालीन बजारको परिकल्पना गरिएका बेला कैलालीमा त अहिले प्रहरीको सुरक्षा नीति अनुसार ८ बजे नै शहर सुनसान हुन थालेको छ। तर कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले ८ बजे नै शहर सुनसान पार्ने नीतिले चोरीका घटनाहरु मौलाएको आरोप लगाए।

जति चहलनपहल कम भयो त्यति नै चोरीमा सुंग्लन गिरोहलाई सजिलो हुने भएकाले कैलाली प्रहरीको उक्त नीति सहि नभएको तर्क उनको छ। धनगढीका बासिन्दाले पनि सुरुमा शहर बजार शान्त हुने र अनि प्रहरी पनि बजार क्षेत्रको सुरक्षामा सक्रियता घटाउदै लैजाने गरेको बताएका छन्। धनगढीका कमल जोशीले अहिले रातीको समयमा न्यून सङख्यामा मात्रै प्रहरी परिचालन हुने गरेको बताए। शहर बजार सुनसान भएको मौका छोपेर नै चोरीमा संग्लनहरु सक्रिय हुने गरेको बुझाई उनको छ। रातीको समयमा पनि शहर बजारमा चहलपहल बढाउन सक्ने गरि कैलाली प्रहरीले सुरक्षा नीति बनाउने पर्ने तर्क धेरैको छ। 

धनगढीमा चोरीका घटना बढ्दै गएपनि अहिलेको प्रहरीले नियन्त्रणका लागि मेसो पाएको छैन्। धनगढीमा चोरीमा संग्लनहरु लागु पदार्थ दुव्र्यसनीहरु नै अधिकासं छन्। तर प्रहरीले लागु पदार्थ ओसारपोसार, विक्री वितरण र सेवनमा कडाई गर्न नसक्दा चोरीका घटना श्रृङखलाबद्ध रुपमा बढिरहेका छन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस