सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको यस्तो स्कुल जहाँ संस्कार र संस्कृति पनि सिकाइन्छ

२०७९ चैत्र १३, ०१:३२ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ भानुचोकमा रहेको पशुपति शिक्षा मन्दिर छ। २०६० मा खुलेको सो स्कुलमा कक्षा ८ सम्म पठनपाठन हुन्छ। स्कुलमा यो शैक्षिकसत्रमा २७५ जना विद्यार्थी अध्ययनरत छन्। पशुपति शिक्षा मन्दिर यस्तो स्कुल हो जहाँ अङ्ग्रेजी माध्यममा पठनपाठन हुन्छ। विद्यालयका प्रधानाध्यापक सुरेशप्रसाद बडूका अनुसार विद्यालयमा सबै जातजातिका विद्यार्थी अध्ययनरत छन्।

विद्यालय पशुपति शिक्षा गुठीको सहयोगमा सञ्चालन गरिएकाले नर्सरीमा १ हजार ५० शुल्क निर्धारण गरिएको छ भने ८ कक्षाको मासिक शुल्क १७ सय ५० छ। धनगढीका अन्य स्कुलभन्दा पशुपति शिक्षा मन्दिरको शुल्क निकै कम छ। चिटिक्क परेका विनयशील विद्यार्थी निजी स्कुलमा पढ्ने विद्यार्थी भन्ने बित्तिकै चिटिक्क स्कुलको पोशाक लगाएका बालबालिका हाम्रो मानसपटलमा आउँछन्।

निजी स्कुलमा पढ्ने विद्यार्थी त्यहीँ स्कुलमा तल्लो कक्षामा पढाउने शिक्षक–शिक्षिकालाई नमस्कार नगर्ने, बाटोमा भेट हुन पुग्यो भने नदेखे झै गरेर हिड्ने हुन्छन्। तर धनगढीको पशुपति शिक्षा मन्दिरमा पढ्ने हरेक बालबालिकाले स्कुलमा पुग्ने हरेकलाई विनम्र भएर अभिवादन गर्ने, हालखबर हँसिलो भएर सोध्ने र आगन्तुकलाई बस्न अनुरोध गरेको देख्न सकिन्छ।

विद्यार्थीहरूको गजबको विनयशील व्यवहार निर्माण गर्न स्कुलले खेलेको भूमिका निकै प्रशंसनीय र अन्य स्कुलका लागि अनुकरणीय छ। हँसिलो मुद्रा, प्रफुल्ल अनुहार र नम्र भएर विद्यार्थीहरूले एक अर्कासँग बोली व्यवहार गरेको सुन्न र देख्न पाइने स्कुल पशुपति शिक्षा मन्दिर मात्रै छ जस्तो अनुभूति हर कसैले गर्न सक्ने विश्वास गर्न सकिन्छ।
बन्दना सत्रबाट सुरू हुन्छ दैनिक पठनपाठन 
पशुपति शिक्षा मन्दिरमा दैनिक ४० मिनेटको बन्दना सत्र हुने गरेको छ। बन्दना सत्रको सुरुवात दीप प्रज्वलनबाट हुन्छ। दीप प्रज्वलनका लागि विद्यालयले हरेक दिन कुनै न कुनै अतिथिलाई निमन्त्रणा गर्छन्। दीप प्रज्वलनसँगै दीप स्तुति, सरस्वती बन्दना, शान्ति स्तोत्र पाठ, पृथ्वी बन्दना, गुरू र मातापिता बन्दना र राष्ट्र बन्दना गरिन्छ।

हरेक दिन दुई जना विद्यार्थीले नविनतम विषयमा आफूले थाहा पाएको कुरा सबैलाई भन्ने प्रचलन स्कुलले चलाएको छ। बन्दनाको अगुवाई र सहजीकरण आआफ्नो पालो अनुसार सबैले गर्न पाउने व्यवस्था मिलाइएको छ। विद्यार्थी समान उत्साह र जोशका साथ नित्य बन्दनामा सरिक हुने अनुपम परम्परा पशुपति शिक्षा मन्दिरले कायम गर्न सकेको देख्दा नौलो अनुभुति हुन्छ।
विद्यार्थीबीच दाइभाई र दिदिबहिनीको सम्बन्ध 
पशुपति शिक्षा मन्दिरमा पढ्ने विद्यार्थीबीच भाइचाराको सम्बन्ध विकास गरिएको छ। रक्षा बन्धनमा छात्राहरूले छात्रहरूलाई रक्षा बाध्ने र दाइभाइ र दिदिबहिनी भनेर सम्बोधन गर्दा रहेछन्। आफूभन्दा ठुलाको सम्मान र सानालाई माया गर्ने व्यवहार हरेक विद्यार्थीले अभ्यास गर्छन् भने त्यो स्कुलको नाम पशुपति शिक्षा मन्दिर हो।

अन्य स्कुलमा विद्यार्थीले “तँ“ भनेर एकअर्कालाई बोलाउने गर्छन् भने पशुपति शिक्षा मन्दिरमा दाइभाइ र दिदिबहिनी भनेर सम्बोधन गर्ने असल अभ्यास हुँदै आएको छ। हरेक विद्यार्थी घरमा के गर्छन् भन्ने जानकारी लिन शिक्षक–शिक्षिका विद्यार्थीको घरमा अभिभावक भेट्न नियमित जाने नीति स्कुलको रहेको प्रधानाध्यापक बडूले बताए।

विभिन्न मौलिक पर्व र उत्सवमा विद्यार्थीको सहभागी हुने गरेको र स्कुलमा सिकेको कुरा घर परिवारमा अभ्यास गरेको छ कि छैन भन्ने आधारमा विद्यार्थीको सिकाइको मूल्यांकन गरिने नियम स्कुलले बनाएको छ। विनम्र भएर हरेक कुरा तोकिएको समयमा पूरा गर्न, सात्विक, दयाभाव, समभाव र मानवीय व्यवहार गर्ने, राष्ट्र प्रेम र आफ्नो दायित्व बुझ्ने नागरिक निर्माण गर्न पशुपति शिक्षा मन्दिरले उदाहरणीय काम गरेको हेर्ने मन छ भने भानुचोकमा रहेको स्कुलमा तपाईं पनि जानु होला भन्ने यो पंक्तिकारको अनुरोध छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस