सुदूर नेपाललाई विश्वसँग जोड्दै

हराउँदै पठन संस्कृतिः पुस्तकालय छन्, पाठक छैनन्

२०७९ फाल्गुन २२, ०२:३५ खबर संवाददाता

दोधारा चाँदनीः कुनैबेला पाठकले भरिभराउ हुने पुस्तकालय अहिले सुनसान छन्। प्रविधिको बढ्दो पहुँच र सामाजिक सञ्जालका कारण पठन संस्कृति लोक हुन थालेपछि पुस्तकालय सुनसान बनेका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालयमा दुई वर्ष पहिलेसम्म पाठक आएर भरिभराउ हुने गरेकामा अहिले सुनसान छ।

पुस्तकालयका सञ्चालक नारायण लम्सालले दुई वर्षअघिसम्म पाठक प्रायजस्तो आउने गरेको भए पनि अहिले आउन छाडेको बताए। ‘केही वर्ष पहिलासम्म फाट्टफुट्टरुपमा पाठक आउथे अहिले कोही आउँदैनन्। पुस्तकालयमा प्रशस्तै पुस्तक छन् तर अध्ययन गर्नेको संख्या छैन’, उनले भने। अहिले सामाजिक सञ्जालका कारण खोजेको कुरा गुगलमा तुरुन्तै भेटिने भएपछि उनीहरुलाई पुस्तकालयसम्म धाउनै नपर्ने लम्सालले बताए।

पछिल्लो समय पढ्ने बानीको विकास नहुँदा पुस्तकालय सुनसान बनेको उनको भनाइ थियो। लम्सालले विद्यालयबाटै शिक्षककले विद्यार्थीलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड द्एि। मानिस अहिले फुर्सदमा भए पनि टिकटक, फेसबुक चलाएर बस्ने गरेकाले पढ्ने बानी हराउँदै गएको उल्लेख गरे। लम्सालका अनुसार पुस्तकालयमा १२ हजारको हाराहारीमा पुस्तक छन्।

बेदकोट सामुदायिक पुस्तकालयमा पनि पाठक नआउँदा बन्द हुने स्थितिमा छ। २०७४ सालमा स्थापना गरिएको उक्त सामुदायिक पुस्तकालयमा अहिले अध्ययन गर्ने व्यक्ति नभएर बन्द हुने अवस्थामा पुगेको पुस्तकालयका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए। ‘युवापुस्ता सामाजिक सञ्जालबाट नै आवश्यक कुरा खोज्ने र मोबाइल, ल्यापटपमा नै पढ्ने गर्दछन्। सामाजिक सञ्जालका कारण मानिसमा पुस्तकालयमा आएर पढ्ने रुचि घट्दै गएको छ’, उनले भने। 

प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मितबन्धुले प्रविधिको विकाससँगै पुस्तकालय पनि प्रविधियुक्त बनाउनुपर्ने बताए। पुस्तक नपढेसम्म ज्ञान हासिल गर्न नसकिने भन्दै उनले पुस्तकालयप्रति अभिरुचि राख्ने र प्रेरणा जगाउने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। अध्यक्ष मितबन्धुले सामाजिक सञ्जालको प्रयोग सही तरिकाले गर्दा नवीन ज्ञान हासिल गर्न सहयोगी हुने बताए।

नेपालमा ज्ञान हासिल गर्नभन्दा मनोरञ्जनको साधनका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ। बालबालिकालाई विद्यालयस्तरदेखि नै सामाजिक सञ्जालको सही प्रयोग गर्ने तथा पुस्तकप्रति अभिरुचि राख्नेखालका कार्यक्रम सञ्चालन गर्नसके पठन संस्कृतिलाई बचाई राख्न सकिने अध्यक्ष मितबन्धुले बताए। –रासस
 

कमेन्ट लोड गर्नुस