एसियन कप छनोट खेल्ने यू–२० महिला टिमको घोषणा
काठमाडौं: नेपालले एएफसी यू–२० महिला एसियन कप छनोटका लागि टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक यम गुरुङले शुक्रबार एसियन कप छनोट खेल्ने यू–२० महिला टिम घोषणा गरेका हुन्। छनोटको पहिलो चरणमा नेपाल समूह ’बी’ मा रहेको छ ।
नेपालको समूहमा युएई, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ। यस समूहको छनोट खेल प्यालेस्टाइनमा हुनेछ। पहिलो चरणको छनोट मार्च ४ देखि १२ भित्र हुनेछ।नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ। छनोटमा सहभागी आठ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन्। दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ। जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ। उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ। यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
नेपाली टोली –
गोलकिपरः कविता विक, सावित्री किसन, लिला जोशी
डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन