सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली-कञ्चनपुरका कुकुर र भैसींमा रेबिजको संक्रमण फेला

२०७९ फाल्गुन १८, ०६:५४ नारायण अवस्थी

धनगढीः कैलाली र कञ्चनपुरमा कुकुर र भैसींमा रेबिजको संक्रमण देखा परेको छ। कैलालीको बर्दगोरियामा घरपालुवा कुकुर र कञ्चनपुरको वेदकोटमा भैसीं रेबिज संक्रमणका कारण मरेका हुन्।

रेबिज रोग लागेपछि पशु तथा मानिसलाई मृत्युबाट बचाउन नसकिने भएकाले समुदायमा रेबिज संक्रमण देखा परे तुरुन्त भेटेरिनरी अस्पतालमा सम्पर्क राख्न आग्रह गरिएको छ। रेबिजको संक्रमणबाट बच्न र बचाउन कुकुर बिरालोलाई नियमतित रेबिज विरूद्धको खोप लागाउन सुझाव दिइएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा घरपालुवा कुकुरमा गत बिहीवार र कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ चम्पापुरमा गत शनिवार रेबिजकै कारण भैसीं मरेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीका प्रमुख पशु चिकित्सक डाक्टर नरेशप्रसाद जोशीले बताए।'कैलालीको वर्दगोरियामा कुकुर र कञ्चनपुरमा एक भैसीं रेबिज लागेर मरेको पुष्टि भएको छ,' उनले भने, 'कुकुरलाई श्यालले टोकेको हो भने भैसींलाई भुस्याहा कुकुरले टोकेको पुष्टि भएको छ।'

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीले लेटरल फ्लो एस्से विधिबाट मरेका पशुमा परीक्षण गर्दा रेबिज पोजेटिभ देखिएको हो। मृत पशुको गिद्दी संकलन गरी थप निदानका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं नमुना पठाइएकोमा त्यहाँ पनि नतिजामा रेबिज पुष्टि भएको छ। सुदूरपश्चिमका कुनै पनि स्थानमा रेबिजको शंका भई पशु मरेमा नजिकको पशु सेवा केन्द्र, भेटेरिनरी अस्पताल र धनगढीस्थित प्रयोगशालामा तुरुन्त जानकारी गराउन आग्रह गरिएको छ।

रेबिज रोगको लक्षण देखा परि सकेपछि मानिस होस् वा पशुको मृत्यु निश्चित हुने भएकाले समयमै सचेत भएर घर पालुवा कुकुर बिरालोलाई नियमित रेबिज बिरुद्धको खोप दिन आग्रह गरिएको छ। बर्दगोरियामा कुकुरलाई श्यालले टोकेर रेबिज देखा परेको हो भने वेदकोटमा गत मंसिर २९ गते भुस्याहा कुकुरले भैसींलाई टोक्दा रेबिज संक्रमण भएको अधिकारीले बताएका छन्।

बर्दगोरियमा अन्य पशु र कुकुरले टोकेको व्यक्तिलाई रेबिज विरुद्ध खोप लगाउने काम भइरहेको बताइएको छ। रेबिज संक्रमण भएपछि कुनै पनि उपचार सम्भव नहुने भएकाले रेबिजको लक्षण पशुचौपाया, कुकुर-बिरालोमा देखापरे हेलचक्रयाइ नगर्न सुझाव दिइएको छ।

शुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीका प्रमुख पशु चिकित्सक डाक्टर जोशीले आफ्ना घरपालुवा कुकुर बिरालोलाई अनिवार्य रुपमा ३ महिना पुगेपछि रेबिज बिरुद्धको खोप लगाउन र हरेक वर्ष बुस्टर डोज लगाउन आग्रह गरेका छन्। 'पशु तथा मानिसमा रेबिज संक्रमण भएपछि उपचार सम्भव छैन,' उनले भने, 'रेबिजबाट बच्न र बचाउन घर पालुवा कुकुर र बिरालोलाई जन्मेको तीन महिनामा रेबिज खोप लगाउने र हरेक वर्ष बुस्टर खोप लगाएर सुरक्षित हुनु सबैभन्दा उत्तम उपाय हो।'

रेबिज एक भाइरस हो।जो कुकुर, बिरालो, भालु जस्ता जनवारमा पाइन्छ। यदि यो भाइरस भएको जनवारले कुनै व्यक्तिलाई टोक्यो भने जनवारको र्‍यालबाट उक्त भाइरस शरीरमा प्रवेश गर्छ। यो भाइरसले एकदमै तीब्र रुपमा सेन्ट्रल नर्भस सिस्टममा आक्रमण गर्छ। र, यो मृत्युको कारण समेत बन्न सक्छ। तसर्थ रेबिजबारे जनचेतना फैलाउन र संक्रमण देखा परे भेटेरिनरी अस्पतालमा खबर गर्न आग्रह गरिएको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस