रेबिजबारे सबैले थाहा पाउनुपर्ने तथ्यहरू
जिएस भण्डारीः विगत ५/६ दिन यता कैलाली र कञ्चनपुरका कुकुर र भैँसीमा रेविज रोगको २/३ वटा आउटव्रेक देखा परेको छ।पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीले लेटरल फ्लो एस्से विधिबाट परिक्षण गर्दा रेबिज पोजेटिभ पाइएको छ। मृत पशुको गिद्दी संकलन गरी थप निदानका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएको छ। सुदूरपश्चिमका कुनै पनि स्थानमा रेबिजको शंका भई पशु मरेमा धनगढीस्थित प्रयोगशालालाई तुरुन्त जानकारी गराउन अनुरोध गरिएको छ।
रेबिज रोगको लक्षण देखा परि सके पछि मानिस होस् वा पशु मृत्यु निश्चित हुने भएकाले समयमा सचेत रहौँ।
रेबिज लागेपछि मानिसको मृत्यु हुने लगभग निश्चित छ।
रेबिजबारे बुझ्नैपर्ने कुरा, के भ्रम, के सत्य ?
हामीकहाँ जताजतै छ्यापछ्याप्ती सडकमा कुकुर छन्। जतिसुकै सर्तकता अपनाए पनि कुकुरले कुनै पनि बेला टोक्न सक्छ। रेबिज लागेपछि मानिसको मृत्यु हुने लगभग निश्चित छ। गाउँघर र सहरमा अहिले पनि रेबिज बिरुद्धको खोप लगाउन आनाकानी गर्ने, बेवास्ता वा ध्यान नदिदा रेबिज लागेर मर्नेहरुको संख्या बर्सेनि बढ्दो क्रममा रहेको तथ्यांक छ।
कुकुरले टोक्यो भने के गर्ने ?
तत्काल हामी केहि सोच्न सक्दैनौ । कुकुरको टोकाइबाट रेबीजको संक्रमण हुन सक्छ।यसले ठूलो समस्या समेत निम्त्याउन सक्छ। कतिको मृत्यु समेत हुन सक्छ।
रेबिज एक भाइरस हो, जो कुकुर, बिरालो, भालु जस्ता जनवारमा पाइन्छ। यदि यो भाइरस भएको जनवारले कुनै व्यक्तिलाई टोक्यो भने जनवारको र्यालबाट उक्त भाइरस शरीरमा प्रवेश गर्छ। यो भाइरसले एकदमै तीब्र रुपमा सेन्ट्रल नर्भस सिस्टममा आक्रमण गर्छ र, यो मृत्युको कारण समेत बन्न सक्छ ।
त्यसैले कुकुरले टोक्नसाथ तुरुन्तै चिकित्सकको परामर्श लिनुपर्छ र एन्टि रेबिज इन्जेक्सन लगाउनुपर्छ।
अनि "आफ्ना घरपालुवा कुकुर बिरालो लाई अनिवार्य रुपमा ३ महिना पुगेपछि रेबिज बिरुद्धको खोप लगाउनु होस् र हरेक बर्ष बुस्टर डोज लगाउनु होस्"।
यी निम्न कुराहरु जनावरको टोकाइपछि बढी सोधिने भ्रम तथा यथार्तताहरु हुन् :-
१) रेबिज रोगीलाई छोएमा, खान दिएमा, चलाएमा वा सो रबिज लागेको व्यक्तिको मलामी गएमा के गर्ने ?
उत्तर: खोप लिनु पर्दैन तर बिरामीको र्याल आँखा, शरीरका घाउँमा, वा मुखमा परेमा भने लिनु पर्छ।
२) शंकास्पद रेबिज लागेको जनावरको मुखमा हात हाली (जस्तै गाई, भैसी, बाख्रा, पालुवा कुकुर आदि) औषधि खुवाउदा के गर्ने ?
उत्तर : कृषकहरु खासगरी खेतीपाती, घाँस दाउरा गर्ने र हातमा सानोतिनो चोटहरु हुनसक्ने भएकोले खोप लिने।
३) रेबिज लागेको जनावर (जस्तै बाख्रा, भैसी, राँगा) को मासु थाहा नपाएर खाए खोप लिनु पर्छ ?
उत्तर : मासु पकाएर खाने भएकोले खोप लिनु पर्दैन ।
४) रेबिज रोग लागेको गाई वा भैसीको दुध थाहा नपाएर खाइयो भने रेबिज बिरुद्धको खोप लगाउनु पर्छ ?
उत्तर : हालसम्म रेबिज रोग लागेको जनावरको दुध खाएर रेबिज रोग लागेको प्रमाण छैन र बिश्व स्वस्थ संगठनका अनुसार पनि त्यस्तो स्थितिमा खोप लिनु नपर्ने भनेर निर्देशिकामा भनिएको छ।
५) रेबिज लागेको रोगीको जुठो खाएमा के गर्ने ?
उत्तर : लक्षण देखिनु पुर्ब जुठो खाएमा खोप लिनु पर्दैन । किनभने रेबिज भाइरस लक्षणहरु देखा परेपछि मात्र सो बिरामीको र्यालमा देखापर्न थाल्छ । रगत, दिसा, पिसाबबाट रेबिज भाइरस सर्दैन।
६) जनावरले टोकेर खोप लिईरहेको तर यसै बीच आफ्नो जुठो परिवारका अरु सदस्यहरुले खाए । त्यस्तै श्रीमान र श्रीमती बीच पनि यौन सम्पर्क भयो । उनीहरुले पनि खोप लिनु पर्छ ?
उत्तर- पर्दैन ।
७) कुकुरले टोकेको घाउ सानो छ । अरुले खोप लगाउनु पर्दैन भन्छ । के हो सत्य ?
उत्तर : घाउ सानो होस् वा ठुलो रेबिज बिरुद्धको खोप लगाउनु पर्दछ।
८) कुकुरको सानो छाउराले टोकेको छ।कुकुर सानो भएकोले मलाई खोप लगाउनु पर्दैन जस्तो लाग्छ । के गर्ने ?
उत्तरः कुकुर सानो होस् वा ठुलो त्यसको पृष्ठभुमि थाहा छैन भने खोप लगाउनु पर्छ । हाम्रो अनुभवमा धेरै मानिसहरुले बाटोमा भेटिएका साना छाउराहरुले टोकेपछि खोप नलगाउँदा रेबिज लागेको प्रशस्त उदाहरणहरु छन्।
९) के टिटानसको खोपले रेबिज रोगबाट बचाउँछ ?
उत्तर : आजभोली धेरै मानिसहरु टिटानसको खोप लगाएपछि बढी ढुक्क भएको देखिन्छ र कति त यही खोप लगाएपछि रेबिज खोप लगाउन समेत नआहेको देखिन्छ।नतिजा, रेबिज लागेको जनावरले टोकेको रहेछ भने रेबिजको कारणले उनीहरुको मृत्यु समेत भएको हामीसँग अनुभवहरु छन् । तसर्थ रेबिज खोप अनिवार्य हुन्छ ।
१०) थाहै नपाई बाहिरको कुकुरले जुठो हालेको खानेकुरा खाइयो । मलाई रेबिज सर्छ भनेर डर लागेको छ।मैले रेबिजको खोप लिनु पर्ला ?
उत्तरः आवश्यक छैन।
११) एउटा मात्र लगाउने सुइ पनि हुन्छ भनिन्छ, के यो सत्य हो ?
उत्तर : सत्य होइन । हालसम्म त्यस्तो खोप उपलब्ध छैन।
१२) कुकुरले टोकेको ३ दिन भित्र खोप लगाउनु पर्छ भनेको सुनेको थिएँ, के यो साचो हो ?
उत्तर : होइन, कुकुरले टोकेपछि जतिसक्दो चाडो सुइ लगाउने व्यवस्था गर्नु पर्छ।
१३) घाउँमै लगाउने सुइ पनि हुन्छ रे नि ? यो किन र कति समय भित्र दिइन्छ ?
उत्तर : घाँटी भन्दा माथि, हातका औलाहरुमा र शरीरमा धेरै र गहिरो घाउहरु भएमा ईमुनोगलोबुलिन भन्ने रबिज बिरुद्धको खोप दिनुपर्छ। यो त्यहि घाउहरुको वरिपरी र तत्काल दिनुपर्छ । यसले आलो घाउमा रेबिजका भाइरसहरु भए तुरुन्त मार्ने काम गर्छ । यो संगै अरु नियमित खोपहरु पनि पुरा गर्नु पर्छ।
१४) बादँर वा मुसाले टोकेमा के गर्ने ?
उत्तर: नेपाल सरकारको निर्देशिका अनुसार मठ मन्दिर तिरका बादरले टोकेमा खोप लगाउनु पर्दैन तर त्यहि समयमा अरु धेरै मानिसहरुलाई पनि टोकेमा भने खोप लगाउनु पर्छ।त्यस्तै घरमा मुसाले टोकेमा पनि रेबिजको खोप लगाउनु पर्दैन।
कुनै पनि जंगली जनावरले टोकेमा पनि रेबिज बिरुद्धको खोप जतिसक्दो चाडो लिनु पर्छ।
नेपालमा सबैभन्दा बढी झन्डै ९२५ को हाराहारीमा कुकुरको टोकाईको कारणले सुइ लगाउन आउने र रेबिज कुकुरकै टोकाईको कारणले बढी रेबिज लाग्ने गरेको तथ्यांक भएकोले यी माथि प्रश्न उत्तरमा पनि कुकुर भनेर उल्लेख गरिएको हो यधपी यो कुनै पनि जनावरको हक लागु हुन्छ।