चोरीमा संग्लनलाई २३ लाख सहित नक्कली अभिभावक बनाएर किन छोड्यो कैलाली प्रहरीले
झण्डै ८ दिन अगाडी तरुण दल कैलालीका नेता रोशन सिंह जिल्ला प्रहरी कार्यालय कैलाली गए। घोड्सुवाका एक जना ट्याक्टर चालक मादक पदार्थ सेवन गरेर सवारी चलाएपछि १५ दिनदेखि हिरासतमा थिए। उनलाई छुटाउनका लागि सिंह प्रहरी कार्यालय पुगेका थिए। सोही बेला भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ बर्षीय निरजबहादुर चन्द पनि प्रहरीको हिरासतमा थिए।
चन्दलाई कैलाली प्रहरीले अत्तरियाबाट पक्राउ गरेको तीन दिन भईसकेको थियो। सिंह र चन्दको पहिलो पटक भेट पनि सोही दिन जिल्ला प्रहरी कार्यालय कैलालीमै भयो। सिंह र चन्दको त्यस अगाडी न चिनजान थियो न कहिले भेटघाट नै भएको थियो। सिंहले पनि चन्दसंग कुनै चिनजान नभएको स्वीकार गरेका छन्।
कैलाली प्रहरीले चन्दलाई तीन दिन हिरासतमा राखिसकेपछि छोड्ने तयारी गरेको थियो तर चन्दका आफन्त कसैलाई पनि बोलाईएको थिएन्। भारतबाट मजदुरी गरेर फर्किएका चन्दसंग २३ लाख ३८ हजार नगद भएकाले छोड्का लागि कैलाली प्रहरीलाई अभिभावकको आवश्यकता प¥यो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक आभुषण तिम्सिना लगायत प्रहरी अधिकारीले तरुण दलका नेता सिंहलाई अभिभावक बन्न आग्रह गरे। सिंहका अनुसार यसअगाडी पनि उनले नचिनेका व्यक्तिलाई अभिभावक बनेर छुटाउन मदत्त गरेका थिए। चन्दलाई छोड्दा जिल्ला प्रहरी कार्यालय कैलालीले उनीसंग २३ लाख ३८ हजार भएको र उक्त रकम चन्दलाई नै अभिभावक रोशन सिंहको रहोवरमा दिईएको भर्पाइ बनायो।
सिंहका अनुसार उक्त रकम मध्ये ११ लाख चन्दले राख्न दिए र बाँकी रकम संगै लगेर गए। तर अहिले चन्दले भने १३ लाख बढि रकम सिंहलाई राख्न दिएको बताउदै आएका छन्। चन्द र उनका आफन्तले सिंहसंग मिलोमतोमा उक्त रकम कैलाली प्रहरीले असुलेको आरोप लगाउँदै आएका छन्।
सिंहलाई नक्कली अभिभावक बनाएर छुटेका चन्द आफ्नो घर बैतडी लागेका थिए। चन्दलाई छोड्दा जिल्ला प्रहरी कार्यालय कैलालीले २३ लाख ३८ हजार दिएको भर्पाई बनाएपनि ९ लाख मात्रै नगद चन्दलाई दिईएको आफन्तले बताउँदै आएका छन्। पछि भारतस्थित नेपाली दुतावासले पत्राचार गरेपछि चन्दलाई बैतडीबाट पक्राउ गरिएको थियो।
बैतडी प्रहरीका अनुसार चन्दबाट अहिले सम्म साढे ६ लाख मात्रै बरामद गरिएको छ भने बाँकी रकम कैलालीमा भएको भनेपछि चन्दलाई कैलाली पठाईएको थियो। सामान्य मदिरा सेवन गरेको भन्दै पक्राउ परेका व्यक्तिलाई छोड्दा कैलाली प्रहरीले नीजका अभिभावकलाई जिम्मा दिने गरेको छ।
तर चोरीको सवा २३ लाख सहित पक्राउ परेका चन्दलाई कैलाली प्रहरीले नक्कली अभिभावक बनाएर किन छोड्यो ? अहिले आम जिल्लावासीको मनमा प्रश्न खडा भएको छ। यस्मा कैलाली प्रहरीका प्रमुख आभुषण तिम्सिनाको तर्क पनि आश्चर्यजनक छ। उनले प्रहरीले नक्कली अभिभावक बनाएर पनि कहिलेकाँही छोड्ने गरेको बताए। त्यसैले १३ लाख रकम कैलाली प्रहरीले असुल्दै चन्दलाई छोडेको आरोप लाग्न थालेको हो।