सन्दीप त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न यूएई जाने तयारीमा
काठमाडौँः नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले विदेश जाने सोमबार सर्वोच्च अदालतबाट अनुमति पाए।
उनले अनुमति पाएको दिन देखिनै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो। सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा १३ विकेट लिएका थिए। नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले यसअघि विदेश जान रोक लगाएको थियो।
सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुनः पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो। क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने बताए।
‘सन्दीपको भिसाका लागि यूएई एम्बेसीमा पासपोर्ट हिजो बुझाएका छौँ। भिजा आउने बित्तिकै टिममा राख्ने र यूएई पठाउने प्रक्रिया सुरु गर्नेछौँ,’ दाशले भने।