सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल फास्ट ट्याकः दर्जनौ नेतालाई म्यासेज, जवाफ पनि नपाएको गुनासो

२०७५ चैत्र १७, ०३:५१ नवराज पनेरु

धनगढी–दीपायल फास्ट ट्याकको विषयमा दर्जनौ नेतालाई सयौँ स्थानीयले दैनिक म्यासेज पठाईरहेका छन्। सुदूरपश्चिमका मन्त्री, राष्ट्रिय राजनीतिमा दख्खल राख्ने नेता, स्थानीय तहका जनप्रतिनिधि र चुनावी नारा बनाएका नेताहरुको मोवाईलमा दैनिक एउटा म्यासेज पुगिरहेको छ। दिनमा सयौं मोबाइल प्रयोगकर्ताले एउटै म्यासेज पठाईरहेका छन्। नेताहरूलाई सम्प्रेषण गरिएको म्यासेजमा उल्लेख छ – ‘धनगढी–दिपायल सडकखण्ड कहिले कालोपत्रे बन्छ ? के यो सडकखण्ड कालोपत्रे गर्ने एजेण्डाहरु तपाईका चुनावी नारा मात्रै हुन् ? कृपया जवाफ दिनुहोला’। 

रुख कटानको अनुमति नपाउँदा र पटक–पटक दोहरीएको स्वामित्व विवादले झण्डै एक वर्षदेखि अलपत्र अवस्थामा रहेको धनगढी–दिपायल फाष्ट ट्रयाकको काम अगाडि बढाउन माग गर्दै स्थानीयबासीले दवावमूलक आन्दोलन शुरु गरेका थिए। दबाव संघर्ष समितिका संयोजक कुवेर शाहीले अभियान अन्तरगत एक दिनमा झण्डै ढाई सय जनाले दर्जन बढि नेतालाई सोही म्यासेज पठाईरहेका छन्।

तर अहिले सम्म २ जना नेता बाहेक सकैले पनि जवाफ फर्काएका छैनन्। प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले शाहीको म्यासेजको जवाफ दिदै संघीय सरकारको मातहतमा योजना गईसकेको भनेका छन् भने प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले सो बारेमा चाँडै टुङगो लाग्ने आश्वासन दिएका छन्। अन्य स्थानीयलाई भने कुनै पनि नेताले जवाफ नफर्काएको आन्दोलनका अगुवा हेमवहादुर विष्टले बताए। 

प्रतिनिधिसभा सदस्य एवं नेकपा नेता लेनखराज भट्ट, भीम रावल, नारदमुनी राना, मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश अर्थ मन्त्री झपट बोहरा, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, सांसद डिल्लीराज पन्त, दीर्घ सोडारी, धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, अत्तरिया नगरपालिकाका मेयर हरिसिंह साउद लगायत नेतालाई स्थानीयले म्यासेज पठाउदै आएका छन्। तर जनताले पठाएको म्यासेजको समेत जवाफ नदिएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन्। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस