एन्फाकै सदस्यद्धारा महासचिव र कोषाध्यक्षलाई बर्खास्त गर्न माग
काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्न कार्यसमिति सदस्यहरुले माग गरेका छन्।
एन्फाका तीन उपाध्यक्षसहित १२ केन्द्रिय सदस्यले शुक्रबार महासचिव र कोषाध्यक्षलाई बर्खास्त गर्न माग गरेका हुन्। उनीहरुले एन्फाको कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षलाई बर्खास्तीको मागसहितको ६ एजेन्डा राख्न माग सहित एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र पठाएका छन्।
एन्फाको केन्द्रिय कार्यसमिति बैठक आउँदो बुधबार बस्दैछ। उपाध्यक्षहरु दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, रविन्द्रबहादुर चन्द, महेन्द्र क्षेत्री, भोजराज शाही, भरत बुढा थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा राख्न माग गरेका हुन्।
