धनगढीका स्थानीयले दिए निजी जग्गामा नाला खन्ने सहमति
धनगढीः धनगढीका स्थानीयले बर्सातको पानी निकासका लागि निजी जग्गामा नाला खन्न सहमति दिएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को नवदीप टोलका स्थानीयले आफ्नो नम्बरी जग्गामा पानी निकासका लागि नाला खन्न सहमति दिएका हुन्। धनगढी उपमहानगरपालिकाको आग्रहमा नगरको डुबान समस्या हल गर्न खेतमा नाला खन्न सहमत भएको जग्गाधनीहरूले बताएका छन्।
हरेक वर्ष बर्सातमा डुबानको समस्या खेप्दै आएको धनगढीमा उपमहानगरले गत वर्षबाट नै खोलानालाको अतिक्रमण हटाउने अभियान थालेको हो। खोलानालाको अतिक्रमण हटाउने दोस्रो चरणको फागुन १ गतेबाट सुरू भएको छ।
डुबानको समस्या झेल्दै आएका धनगढीका स्थानीय पनि यो पटक डुबान समस्या हल गर्न तत्पर भएका छन्। डुबान समस्या हल गर्न वडा नम्बर २ का आधा दर्जनबढी स्थानीय आफ्नो नम्बरी जग्गामा नाला खन्न दिन तयार भएका हुन्। छिमेकीहरूले खेतमा नाला खन्न दिएर आफ्नोसहित आधा दर्जन बढीको घर जोगाइ दिएको नवदीप टोलका स्थानीय मिरा श्रेष्ठले बताए।
'छिमेकीहरू राम्रा भएका कारण खेतमा नाला बनाउन दिएका छन्,' उनले भने, 'जसका कारण हामीहरूको घर जोगिने भएको छ।'
रश्मि मेडिकल हलदेखि फनपार्क हुँदै मोहनासम्म पानीको निकास निकाल्न हुलाकी सडकसम्म पुरानो नाला भए पनि हुलाकी सडक छेउमा रहेको वनदेवी मन्दिरदेखि भने नाला छैन। हुलाकी सडक किनारैकिनार नाला खन्दा छिमेकीका घर पर्ने भएकाले सबैले सल्लाह गरेर खेतमा नाला खन्न दिने सहमति गरेको धनबहादुर राईले बताए।
'सडक किनारमा नाला खन्दा हामीहरूको घर पर्ने भयो,' उनले भने, 'सबैको सल्लाहमा खेतमा नाला बनाउन दिने सहमति भएको छ।'
नाला बन्ने ठाउँमा सबैभन्दा बढी जग्गा स्थानीय कमला गुरुङको पर्छ। नगर क्षेत्रमा हरेक वर्ष डुबान हुँदा धेरैको घरभित्रै पानी पसेर बिचल्ली हुने भएकाले खेतमा नाला खन्न दिन सबैभन्दा पहिले आफू तयार भएको गुरुङले बताए।
'अहिले नाला निर्माण गर्दा छिमेकीका घर पर्ने भएकाले सबैभन्दा पहिले आफ्नो खेतबाट नाला खन्न राजी भएकी हुँ,' उनले भनिन्, 'नगर क्षेत्रमा डुबान समस्या समाधान गर्न सबैले सहयोग गरुन भनेर पनि नाली खन्न दिन सबैभन्दा पहिले सहमत भएकी हुँ।'
नगरप्रमुख गोपाल हमालले डुबान समस्या समाधान गर्न उपमहानगरले पानीको निकास खोल्न स्थानीयसँग सहयोग माग्ने बताउँदै आएका छन्। नगरप्रमुख, उपप्रमुख वडा अध्यक्षलगातका जनप्रतिनिधि र कर्मचारी डुबान समस्या हल गर्न सर्वसाधारणको घरदैलोमा पुगेर सहयोग मागी रहेका छन्। नवदीप टोलका स्थानीयले डुबान समस्या समाधान गर्ने योजनामा ठुलो सहयोग गरेको नगरप्रमुख हमालले बताएका छन्।
'रश्मि मेडिकल हलदेखि पुरानो नाला खोल्दै लग्यौँ तर नवदीप टोलको वनदेवी बन्दिरदेखि पुरानो नाला भेटिएन,' उनले भने, 'पानी निकासको अर्को व्यवस्था नहुञ्जेलसम्म खेतमा दुई मिटर चौडाईको नाला खन्न दिन स्थानीय तहयार भएका छन्। उहाँहरूलाई हामी धन्वाद दिन्छौँ भने अन्य ठाउँमा पनि सहयोग गर्न नगरवासीलाई अनुरोध गर्दछौँ।'
नवदीप टोलका धनबहादुर राई, सोमबहादुर राई, दलबहादुर राई, भीमबहादुर थापा जितबहादुर थापा र कमला गुरुङसहितका स्थानीयले नम्बरी जग्गामा नाला खन्न दिने सहमति दिएका हुन्।