एलपीएल : फाइनल खेल आज
धनगढी: विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लिटल फ्लावर प्रिमियर लिग एलपीएलको आज समापन खेल हुँद छन्। फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि आज डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी अत्तरिया र लोटस आइ इङ्लिस मिडियम स्कुल अत्तरिया प्रतिस्पर्धा गर्दै छन्।
खेल फाप्ला मैदानमा दिउसो १२ बजे सुरु हुने छ। सत्यवती प्रतियोगिताको अपराजित टोली हो। लोटस आइले आफ्नो पहिलो खेलमै सत्यवतीसँग हार बेहोरेको थियो। सोही हारको बदलमा रहेको लोटस आइलाई पराजित गरी सत्यवती उपाधी रक्षा गर्ने दाउमा हुने छ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।