सुदूर नेपाललाई विश्वसँग जोड्दै

नामिबियामाथि नेपालको एतिहासिक जित

२०७९ फाल्गुन २, ०५:१३ खबर संवाददाता

काठमाडौंः कुशल भुर्तेलको शतकमा नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नामिबियालाई हराएको छ।

मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो। त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाउँदै २८७ रन बनायो। नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो सर्वाधिक रन पनि हो। नेपालका लागि कुशलले शतकीय पारी खेले। ११३ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गर्दै ११५ रन बनाए।

नेपालका लागि रोहित कुमार पौड्लले अर्धशतकीय पारी खेले। ७६ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए। नेपालका लागि सन्दीप जोराले २८ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २५ रनको योगदान गरे। त्यस्तै करण केसीले २० रन बनाए। नामिबियाका लागि रुबेन र कार्ल ब्रेनस्टोकले तीन तीन विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो।

नेपालका लागि करण केसीले पाँच विकेट लिए। एकदिवसीय क्रिकेटमा करणले एकै खेलमा पाँच विकेट लिएको तेस्रो पटक हो। त्यस्तै सन्दीप लामिछानेले तीन विकेट लिँदा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए। नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ।

कमेन्ट लोड गर्नुस