सुदूर नेपाललाई विश्वसँग जोड्दै

खानी अध्ययन गर्न विभागको टोली सुदूरपश्चिम आउँदै, ‘औद्योगिक विकास पहिलो प्राथमिकतामा’

२०७९ माघ २६, ०४:४६ नारायण अवस्थी

धनगढीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम केही दिनमै अघि बढ्ने बताएका छन्।

कैलाली उद्योग वाणिज्य संघले बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्र, लालपुर–हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) र सुदूरपश्चिममा रहेका खानीहरुको पहिचान गरेर उत्खनन् गर्ने मन्त्रालयको प्राथमिकतामा रहेको बताए। मन्त्री भण्डारीले वर्तमान सरकारले तय गरेका साझा नीति तथा कार्यक्रममा उद्योग क्षेत्रले प्राथमिकता पाएको बताउँदै सुदूरपश्चिममा गर्नुपर्ने कामहरूको प्रस्ताव ल्याउन उद्योगी व्यवसायीलाई आग्रह गरे।

नयाँ बजेटमा सुदूरपश्चिमको उद्योग क्षेत्रले प्राथमिकता पाउने हिसावले नयाँ व्यवस्था गरिने मन्त्री भण्डारीको दाबी छ। सुदूरपश्चिमको विकासको लागि दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्नु जरुरी रहेको बताउँदै फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले दोधारा–चाँदनीको अवलोकन भ्रमण गर्ने मन्त्री भण्डारीले जानकारी गराएका छन्।

‘दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह चाँडै बन्छ, प्राधानमन्त्रीसहितको सरकारी टोलीले त्यो क्षेत्रको फागुन १ गते अवलोकन गर्ने कार्यक्रम तय भएको छ,’ उनले भने, ‘सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढाउने, दैजी–छेला औद्यौगिक क्षेत्र र लालपुर–हरैया विशेष आर्थिक क्षेत्रको कामसँगै यहाँका खानीहरूको अध्ययन गरेर उत्खनन् गर्नु मेरो पहिलो प्राथमिकतामा छ।’

मन्त्री भण्डारीले सुक्खा बन्दरगाहको काम अघि बढाउन भारत सरकारसँग पनि सकारात्मक ढङ्गले कुरा अगाडि बढिरहेको बताए। प्रधानमन्त्रीको भारत भ्रमणको समयमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयले प्राथमिकता पाउने उनले बताए। नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका मन्त्री भण्डारीले सुदूरपश्चिमलाई उद्योग र व्यापारिक क्षेत्रको ‘हव’ बनाउने सम्भावना रहेको बताउँदै भारतको औद्योगिक सहर रुद्रपुर कञ्चनपुरबाट निकै नजिकमा रहेकाले सुक्खा बन्दरगाह बन्नासाथ निर्यात–आयात गर्न सहज हुनेमा मन्त्री भण्डारीको जोड थियो। दैजी–छेलामा केही दिनभित्रै कार्यालय सञ्चालनमा ल्याउने तयारी थालिएको उनले बताए। अहिले रुख छपानको काम भइरहेको छ।

गेटामा चिकित्सा विश्वविद्यालय स्थापना गर्ने, महाकाली लोक मार्ग र सेती लोक मार्गको निर्माण गरेर प्रदेशको व्यापार र पारवहनलाई भारत र चीनसँग जोड्न आवश्यक रहेकाले पर्याप्त बजेट व्यवस्थापन गरेर सडक सञ्जाल विस्तार र औद्योगिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उनको दाबी छ। साथै सुदूरपश्चिममा विदेशी लगानी भित्र्याउन लगानी बोर्डले समेत विशेष पहल गर्ने भण्डारीले बताए।

सुदूरपश्चिममा उद्योग स्थापनादेखि विदेशी लगानी भित्रिन नसकेको, यहाँको प्राकृति स्रोतको उपयोग हुन नसकेकाले सरकारले सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धनगढीका उद्योगी व्यवसायीले माग गरेका छन्। जवाफमा मन्त्री भण्डारीले उद्योगी व्यवसायीले लगानी गर्न सक्ने हिसावले सरकारले नीतिमा सुधार र परिमार्जन गर्न लागेको बताए। 
खानीको  पहिचान र उत्खनन् गरिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले खानी विभागको टोलीले सुदूरपश्चिमबाट खानीको अध्ययन र उत्खनन् गर्ने बताए। एक हप्ताभित्रै खानी विभागको टोली सुदूरपश्चिममा रहेका खानीहरूको अध्ययन गर्न आइपुग्ने छ। टोलीले दार्चुलामा कपर खानी, शिशा खानी, बैतडीमा फलाम खानी, स्लेट खानी, बझाङमा फलाम खानीको अध्ययन गर्नेछ। खानी विभागको टोली आफु काठमाडौं फर्किनासाथ सुदूरपश्चिम आइपुग्ने उनले बताए। यो कामको सुरुवात सुदूरपश्चिमबाट गर्न मैले निर्देशन दिएको छु, उनले भने। 
‘सुदूरपश्चिमबाट माग लगेर कोही पनि मन्त्रालयमा पुगेनन्’
गत पुस ३ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री भण्डारीले अन्य क्षेत्रका उद्योगी व्यवसायी विभिन्न मागसहित मन्त्रालयमा आउने गरे पनि सुदूरपश्चिमबाट कोही पनि मन्त्रालयमा नपुगेको बताए। ‘अन्य ठाउँ र जिल्लाबाट उद्योग वाणिज्य संघहरू विभिन्न माग लिएर मन्त्रालय पुगे पनि सुदूरपश्चिमबाट कुनै पनि उद्योग वाणिज्य संघ माग र समस्या लिएर मन्त्रालय नपुगेको देख्दा राज्यसँग माग्न पनि सुदूरपश्चिमले नसक्ने पो रहेछ भन्ने लागेको छ,’ मन्त्री भण्डारीले भने। मन्त्री भण्डारीले सुदूरपश्चिमका माग र समस्या अनि तिनको समाधानका उपायसहित आउन यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस