सुदूर नेपाललाई विश्वसँग जोड्दै

'नागरिक उन्मुक्ति सरकारको कमैया होइन, कसैलाई समर्थन गर्दैनौँ'

२०७९ माघ २५, ०९:२५ नारायण अवस्थी

धनगढीः  जेलको ढोका खुले सुदूरपश्चिम सरकारको ढोका खुल्ने नागरिक उन्मुक्ति पार्टीले बताएको छ। पार्टीका प्रवक्ता दामोदर पण्डितले रेशमलाल चौधरीलगायतका नेताहरूका लागि जेलको ढोका खुले सुदूरपश्चिमका मुख्यमन्त्रीले सजिलै विश्वासको मत पाउने बताएका हुन्।
'हाम्रा नेताहरूका लागि जेलको ढोका खुल्यो भने सरकारको ढोका खुल्छ नत्र हामी तटस्थ बस्ने हो,’ उनले भने, ’म अहिले यति मात्रै बोल्छु बाँकी कुरा संसदीय दलका नेता रामेश्वर चौधरीसँग बुझ्नु होला।’

नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिने वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको रहेको बताउँदै आएको छ। पार्टीका संस्थापक नेता रेशमलाल चौधरी र टीकापुर घटनामा संलग्न भएको भनेर जेल परेका अन्य नेताहरूलाई जेलमुक्त गर्नुपर्ने माग नागरिक उन्मुक्तिले सरकारसँग राख्दै आएको छ।

नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका नेता रामेश्वर चौधरीले पार्टीले राखेको माग मुद्दा पूरा नहुँदासम्म विश्वासको मत दिन नसकिने बताएका छन्। चौधरीले रेशमलाल चौधरी र अन्य सात जनाको तुरुन्त रिहाइ भए सरकारलाई विश्वास मत दिने बताएका छन्।
नागरिक उन्मुक्तिका सबै सांसद काठमाडौंमा रहेको बताउँदै प्रदेश सभामा संसदीय दलका नेता चौधरीले सरकारले नेताहरूलाई रिहाइ गर्ना साथ विश्वासको मत दिन धनगढी पुग्ने बताएका छन्। उनले सरकारले आफूहरूलाई कमैया नठान्नज आग्रह गरेका छन्।

नागरिक उन्मुक्तिको मतले सरकार चलाउने तर माग र मुद्दा पूरा नगर्ने सरकारको नियति देखिएको बताउँदै अहिलेमा मुख्यमन्त्री रावल र भोलि काँग्रेसको सरकार बने पनि समर्थन नगर्ने बताएका छन्।
सरकारमा तीन जना मन्त्री माग्दै हुनुहुन्छ त्यसैले हो कुरा नमिलेको भन्ने जिज्ञासमा मुख्यमन्त्री पाउँदा सरकारमा नगएकालाई मन्त्रीको अफर आउँदा सत्तामा जाने कुरै नउठ्ने चौधरीले बताएका छन्।

'हामीले मन्त्री मागेका छैनौँ, हिजो मुख्यमन्त्री पाउँदा त सरकारमा गएनौँ भने आज मन्त्री पाउँदा जाने या नजाने भन्ने हुन्न,’ उनले भने, ’हाम्रो माग नेताहरूको रिहाइ हो, माग पूरा हुनासाथ एक घण्टाभित्र धनगढी पुगेर विश्वासको मत दिन हामी तयार छौँ। तर सरकार माग पूरा गर्न तयार छैन।’

यता, नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले भने नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्। सरकार पार्टीले उठाएका माग पूरा गर्न सकारात्मक भएकाले विश्वासको मत दिन नागरिक उन्मुक्ति तयार हुने पाठकले बताएका छन्।

भोलि अर्थात बिहीवारसम्म विश्वासको मत नपाए मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकार छोड्नुपर्ने हुन्छ। त्यसपछि प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले सरकार गठन गर्ने बाटो खुला हुने छ। तर, नागरिक उन्मुक्तिले काँग्रेस नेतृत्वमा बन्ने सरकारलाई पनि समर्थन नगर्ने जनाएको छ।

नेता रिहाइको माग पूरा नहुँदासम्म सरकारको कमैया नहुने नागरिक उन्मुक्तिका संसदीय दलका नेता रामेश्वर चौधरीले बताएका छन्। ’हामी हाम्रा माग पूरा नहुँदासम्म कसैलाई समर्थन गर्दैनौँ,’ उनले भने, ’अहिलेका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएर भोलि काँग्रेसलाई समर्थन गर्ने भन्ने हुन्न। हामी राजनीतिक कमैया हुन आएका होइनौँ।’

नेपाली काँग्रेसले भने अहिलेका मुख्यमनत्रीले विश्वासको मत नपाएको अवस्थामा मात्रै सरकार बनाउने बारे सोच्न सकिने बताएको छ। काँग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए काँग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यसपछि अन्य विकल्पमा कुरा अगाडि बढ्ने बताए।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ। माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ। प्रतिपक्षमा काँग्रेसका १९, समाजवादीका चार र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस