सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमाथि नेपालको शानदार जित

२०७९ माघ २४, ०५:०५ खबर संवाददाता

काठमाडौंः भारतविरुद्ध ३–१ को पुनरागमन जितसहित नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो। पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल ग¥यो। खेलको २१औं मिनेटमा अपुर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। तर ४७औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन्।

कप्तान प्रिती राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन्। अग्रता बनाएपछि भारतमाथि हावी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३–१ को जित दिलाइन्। पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो। नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्एको छ।

भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो। हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ। भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बंगलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ। तर यसअघिका दुई खेल हार्दै बाहिरिसकेको भुटानले बंगलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो। सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस