राजस्व संकलन लक्ष्यभन्दा कम
काठमाडौंः देशका हरेक ६ नागरिकमध्ये १ जनाले सरकारलाई कर तिर्ने गरेको पाइएको छ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार २०७९ पुस मसान्तसम्म ५१ लाख ८६ हजार ९७ जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन्। देशको जनसंख्या ३ करोड नाघिसक्दा करदाताको संख्या हरेक ६ जनामध्ये १ हो। देशका करिब १७ प्रतिशत नागरिकले मात्र कर बुझाउने गरी दर्ता भएका छन्। आन्तरिक राजस्व विभागले प्रदान गरेको ५२ लाख प्यान नम्बर लिनेमध्ये १८ लाख ४० हजार ४ सय ५० जनाले व्यावसायिक प्यान र ३३ लाख ४५ हजार ६ सय ४७ जनाले व्यक्तिगत प्यान लिएका हुन्।
बाँकी २३ हजार ६ सय ६२ करकट्टि गर्ने निकाय हुन्। मन्त्रालयका अनुसार आव २०७८÷७९ को असार मसान्तसम्म ४८ लाख ३० हजार ८ सय ११ जना करदाता थिए। चालू आवको ६ महिनामा ३ लाख ७८ हजार ९ सय ४८ जना करदाता थपिएका छन्। मन्त्रालयका अनुसार हालसम्म ३ लाख ३ हजार ८ सय ६७ वटा व्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका छन्।
यसैगरी अन्तःशुल्क तिर्ने गरी दर्ता भएका व्यवसायको संख्या १ लाख १८ हजार ८ सय ९१ छ। भ्याट र अन्तःशुल्क तिर्ने गरी दर्ता भएका व्यवसायको संख्या गत असार मसान्तसम्म २ लाख ९१ हजार ६ सय ३१ रहेकामा ६ महिनामात्र क्रमशः १२ हजार २ सय ३६ र ६ हजार ६ सय ६० थपिएका हुन्। आन्तरिक राजस्व विभागका अनुसार चालू आवको दोस्रो त्रैमासमा १ लाख ४६ हजार ९ सय ४१ जनाले व्यक्तिगत प्यान लिएका छन्।
यस्तै ३१ हजार ५ सय ८४ जनाले व्यावसायिक प्यान लिएको विभागले जानकारी दिएको छ। विभागका अनुसार ३ महिनाको अवधिमा भ्याट र अन्तःशुल्कमा दर्ता हुने व्यवसायको संख्या ४ हजार ८ सय १३ र ९ हजार ५ सय ५४ छ। यस्तै २ हजार २ सय ६५ कम्पनीले विथहोल्डर प्यान दर्ता गरेका छन्। यी कम्पनीले करकट्टिको अख्तियारी लिएका हुन्। ३ महिनामा विभागले ३ सय १६ कम्पनीको पूर्ण कर परीक्षण गरेको छ। यसैगरी ५६ वटा प्रारम्भिक अनुसन्धान थालेको विभागले ६३ वटा विस्तृत अनुसन्धान गरेको जनाएको छ।
विभागले पुस मसान्तसम्म २ खर्ब २१ अर्ब ७५ करोड रुपैयाँ कर संकलन गरेको छ। जसमध्ये ९७ अर्ब ५२ करोड रुपैयाँ आयकर हो। आयकरमा दर्ता हुनेको संख्या बढे पनि संकलन हुने आयकरको परिमाण भने अनपेक्षित दरले बढ्न नसकेको हो। विभागले ६ महिनामा १ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य लिएकामा ७१.८७ प्रतिशतमात्र संकलन गर्न सकेको हो।
पुसको मासिक लक्ष्यमा पनि विभाग पछि परेको छ। विभागले पुसमा ७८ अर्ब १ करोड रुपैयाँ आयकर उठाउने भनेकामा ५१ अर्ब २ करोडमात्र उठाएको छ। महिनामा लक्ष्यको ७५ प्रतिशत अर्थात् १ अर्ब २७ करोड घरबहाल कर उठेको छ। ब्याजकर लक्ष्यको ८४.७२ प्रतिशतमात्र उठ्दा स्वास्थ्य सेवा कर र शिक्षा कर भने लक्ष्यभन्दा बढी क्रमशः १०८.५७ प्रतिशत र १००.२६ प्रतिशत उठेको छ। विभागले आधावर्ष बित्दा १६ अर्ब ८१ करोड रुपैयाँ ब्याजदर, ३ अर्ब ७३ करोड रुपैयाँ स्वास्थ्य सेवा कर र ७३ अर्ब शैक्षिक कर उठाएको हो।
भ्याट र अन्तःशुल्कमा दर्ता हुने व्यवसायको संख्या बढे पनि यस्ता करमा पनि विभागको प्रगति लक्ष्यअनुसार छैन। पुस मसान्तसम्म सरकारले लक्ष्यको ८१.७२ प्रतिशत अर्थात् ५१ अर्ब १३ करोड रुपैयाँ र आन्तरिक उत्पादनतर्फको अन्तःशुल्क ८८.४२ प्रतिशत अर्थात् ५० अर्ब ५५ करोड रुपैयाँ उठेको छ।