सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको क्रिकेटः खेलाडी छन्, खेलकुदका पूर्वाधार छैनन्

२०७९ माघ २१, ०१:२३ कमल सावद

धनगढीः खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सहयोग पु¥याउन  महत्वपूर्ण  भूमिका  खेल्दै आएको  सुदूरपश्चिम प्रदेशमा खेलकुदका लागि चाहिने पूर्वाधार र खेल सामग्रीको अभाव छ।

खेलकूद सामग्री, मैदान लगायतका भौतिक संरचना तथा  पूर्वाधार र दक्ष प्रशिक्षकको अभावजस्ता समस्या खेलाडीले झेल्दै आएका छन्। यसका बावजूत पनि क्रिकेट, तेक्वान्दो, भलिबल, बक्सिङ, फुटबललगायत खेलमा प्रदेशले राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी जन्माइसकेको छ। पर्याप्त पूर्वाधारको अभाव हुँदा पनि सुदूरपश्चिमका धेरै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर सफल भएका हुन्।

पूर्वाधारको अभावमा खालीचौर र ढुङ्गामाटोमा खेल्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल छन्। तर खेलका पर्याप्त पूर्वाधार जुटाउनेतर्फ राज्यको ध्यान पुग्न सकेको छैन। क्रिकेटरको हकमा सुदूरपश्चिमले राम्रै फड्को मारेको देखिन्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा सुदूरपश्चिम प्रदेशबाट ५० देखि ६० प्रतिशतभन्दा बढी क्रिकेटरको सहभागिता रहने गरेको छ।

नाम चलेका क्रिकेटर भुवन कार्की, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउँद, ललितसिं भण्डारी, दिलीपनाथ, भीम सार्की, सन्दीप जोरा, सुवोध ऐरलगायत खेलाडी सुदूरपश्चिमबाटै उदाएका हुन्। पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव भइरहँदा खेलमा अभिरुची राख्ने खेलाडी निरुत्साहित हुनुपर्ने अवस्था रहेको खेलप्रेमीको गुनासो छ।

प्रदेशको अस्थायी मुकाम धनगढीसहित पहाडी जिल्लाहरुमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न पूर्वाधार छैन्। धनगढीको बजार क्षेत्रमा रहेको प्रदेश प्रहरीको खेल मैदानमा क्रिकेट प्रतियोगिताहरु सञ्चालन हुँदै आएका थिए। सो स्थानमा पेट्रोल पप्म निर्माण हुँदैछ्। धनगढीको फाप्लामा अन्तिराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको प्रक्रिया सुरु भए पनि भौतिक निर्माणको प्रक्रिया सुरु भएको छैन्। प्रतियोगिता सञ्चालक आफैले मैदान मर्मत तथा सुधार गर्नुपर्ने बाध्यता छ। 

प्रतियोगिता सञ्चालनको खर्चसँगै आयोजकले मैदान मर्मतको काम समेत प्रत्येक प्रतियोगितामा गर्नुपर्ने बाध्यता छ। लिटिल फलावरका अध्यक्ष रामचन्द्र शाहीले धनगढीमा प्रतियोगिता सञ्चालन गर्दा प्रत्येक वर्ष मैदान मर्मत गर्दै आएको बताए। ‘प्रतियोगिता सञ्चालनका लागि मैदान मर्मत पर्नुपर्ने हुन्छ। फाप्ला राम्रो छ। तर निर्माण भएको छैन।,’ उनले भने।

धनगढी क्रिकेटरको ‘हब’को रुपमा विकास हुँदै गएको दाबी गरिन्छ। तर धनगढीमै क्रिकेट मैदान छैन्। प्रदेशले खेलाडी दिएपनि सरकारले क्रिकेट पूर्वाधार दिन सकेको छैन्। क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले सुदूरपश्चिममा क्रिकेट रंगशाला नभएको बताए। धनगढीमा प्रहरीको मैदानलाई क्रिकेट मैदानको रुपमा प्रयोग गर्दै आएकोमा पेट्रोल पम्प निर्माण थालिएको भन्दै उनले चिन्ता व्यक्त गरे। उनले भने, ‘धनगढी अर्थात सुदूरपश्चिममै एउटा पनि क्रिकेट मैदान छैन्।’

धनगढीका क्रिकेटर विपिन रावलले पनि क्रिकेट मैदान नभएकाले समस्या भएको बताए। उनले धनगढीको फाप्लामा अन्तराष्ट्रिय मैदान तयार भए स्थानीय खेलाडीलाई समेत सहज हुने बताए। धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम बनाउने लक्ष्यसहित सरकारले पूर्वाधार विकास समिति गठन गरेको छ। तर पूर्वाधार निर्माणको काम सुरु भएको छैन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस