बैतडीमा महिला टी–२० क्रिकेट : अवरुद्ध भएका खेल आज खेल्ने
बैतडी: शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरू भएको छ। मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए। अवरुद्ध खेल आजदेखि खेलाउन थालिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए। आज दशरथचन्द नगरपालिका–२ देहिमाडौँ र दनपा–५ दशरथ चन्द तथा दनपा–१० बाराकोट र दनपा–११ नागार्जुन भिड्दै छन्।
दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो। नगरका सात टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले रु २५ हजार तथा उपविजेताले रु १५ हजार प्राप्त गर्ने दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए। रासस